नेपालमा झन् बढ्यो भ्रष्टाचार, भ्रष्ट मुलुकको सूचीमा ४ स्थान माथि उक्लियाे

काठमाडाैं । भ्रष्ट मुलुकहरूकाे सूचीमा नेपाल चार स्थान माथि उक्लिएकाे छ । भ्रष्टाचारसम्बन्धी अध्ययन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले २०२० को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्दै नेपालमा गत वर्ष (सन् २०२०) मा भ्रष्टाचार बढेको देखाएकाे छ ।

ट्रान्सपरेन्सीले सार्वजनिक गरेकाे प्रतिवेदन अनुसार सो सूचकांकका आधारमा सन् २०२० मा नेपालमा गरिएको सर्वेक्षणमा नेपालले १०० मा ३३ अंक प्राप्त गर्दै भ्रष्ट देशहरुको सूचीमा ११७ औं स्थानमा उक्लिएकाे छ । त्योभन्दा अघिल्लो वर्ष नेपाल ११३औं स्थानमा रहेको थियो ।

विगत १ वर्ष (सन् २०१९–२०) मा विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भीडीइएम समेत गरी ६ वटा संस्थाले सर्वेक्षण गरेकाे थियाे । उक्त सर्वेक्षणका आधारमा सीपीआई २०२० मा नेपाललाई १०० मा ३३ अङ्क (११७ औं स्थान) दिइएको ट्रान्सपरेन्सीले जनाएको छ ।

सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नभएकाे पनि ट्रान्सपरेन्सीले उल्लेख गरेकाे छ । चार स्थान माथि उक्लनुले भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देखिएकाे ट्रान्सपरेन्सीले जनाएकाे छ ।

याे वर्षकाे सूचकांकमा समावेश १८० देशमध्ये डेनमार्क र न्युजील्याण्ड कम भ्रष्टाचार हुने मुलुकमा परेकाे छ भने साउथ सुडान र सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने ट्रान्सपरेन्सीकाे सूचकांकले देखाएकाे छ ।

यस सूचकांकमा १०० अंकले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ ।

प्रतिक्रिया