नाम र चुनाव चिह्न दाबीसहित पुनः निर्वाचन आयोग जाँदै दाहाल–नेपाल

  • धनबल राई

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले पुनः निर्वाचन आयोगमा पत्र पठाउने भएको छ । यो समूहले पार्टीको नाम (नेकपा) र चुनाव चिह्न (सूर्य) दाबी गर्दै पुनः पत्र पठाउने भएको हो ।

यसअघि गत १२ माघमा आयोगले दुवै समूह (दाहाल–नेपाल र केपी शर्मा ओली) लाई आधिकारिकता नदिने निर्णय गरेको थियो । तर, आयोगको उक्त निर्णयसँग असन्तुष्ट भइ दाहाल–नेपाल समूहले पुनः थप दाबीसहित पत्र पठाउने भएको हो ।

दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताएअनुसार अहिले आयोग जाने विषयमा छलफल भइरहेको छ । ‘जाने कि नजाने भन्ने विषयमा अहिले छलफल तथा परामर्श भइरहेको छ’, नेता पोखरेलले मकालु खबरसँग भनेका छन्, ‘कानूनी तथा राजनीतिक परामर्श भइरहेको छ । सम्भवतः एक दुई दिनभित्र हामी जान्छौँ ।’

आयोगले ४ सय ४१ जनाभन्दा अरुलाई नचिन्ने बताएका नेता पोखरेलले ४ सय ४१ मध्येबाट आफूसँग बहुमत भएको पनि बताए । नेता पोखरेलले भनेका छन्, ‘४ सय ४१ मध्येबाट हामीसँग बहुमत छ । त्यसैले बहुमतको निर्णय मान्नुपर्छ । यो हाम्रो विधानमै छ ।’

यस विषयमा गत मंगलबार र बुधबार अध्यक्षद्वय दाहाल–नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले कानूनविद् तथा अधिवक्ताहरुसँग छलफल गरेका थिए ।

थप डकुमेन्टसँग आएमा छलफल हुन्छ : आयोग
यता निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले थप डकुमेन्टसहित कुनै समूह आएमा छलफल हुने बताउँछन् । आयोगले पहिलो चरणको जवाफ दुवै अध्यक्षलाई पठाइसकेको बताउँदै प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘थप प्रमाण लिएर कुनै पक्ष आए फेरि छलफल हुन्छ । नाम र चुनाव चिह्नको विषयमा आयोगले बोल्नुपर्ने कुरा एकपटक बोलिसकेको छ । त्यसमा पुनः कुनै समूह थप डकुमेन्टसहित आयो भने छलफल हुन्छ ।’

गत पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा राजनीतिक र व्यवहारिक रुपमा प्रष्ट विभाजित छ । सोही दिन बसेको दाहाल–नेपाल समूहको स्थायी समिति बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

सोहीअनुरुप दाहाल–नेपाल समूहले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ भने अर्का अध्यक्षका रुपमा नेपाललाई चुनेको छ । आयोगले साविककै विवरण मान्य हुने निर्णय गरेपछि ओलीले थपेका केन्द्रीय सदस्यसँगै नेपालको अध्यक्ष पद पनि गुमेको छ ।

योसँगै राष्ट्रिय राजनीति कतातिर सोझिन्छ भन्ने अन्यौलता झनै बढेको छ ।

यो पनिः –
–नेकपा विभाजनलाई निर्वाचन आयोगले दिएन मान्यता
–१५ माघमा मतदाता नामावली प्रकाशित गर्ने निर्वाचन आयोगको प्रस्ताव
–निर्वाचन आयोगसँग ओलीको आग्रह–कसैको सामग्री अभिलेखीकरण नगर्नु
–दाहाल–नेपाललाई निर्वाचन आयोगको जवाफ : ‘सर्वोच्चले भनेपछि चुनावका थप प्रक्रिया रोक्छौँ’
–दाहाल–नेपाल निर्वाचन आयोगमा, पदाधिकारीसँग छलफल
–दुवै नेकपालाई निर्वाचन आयोगको सात दिने म्याद
–निर्वाचन आयोगलाई दाहाल–नेपालको पत्र : ‘ दल दाबी गरिरहनुपर्ने अवस्था छैन’
–निर्वाचन आयोग पुगेका प्रचण्डले भने- ‘नाम र चुनाव चिन्ह हामीले पाउनुपर्छ’

प्रतिक्रिया