१५ माघमा मतदाता नामावली प्रकाशित गर्ने निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी १७ र २७ बैशाखमा घोषित आम चुनावको तयारीबारे राजनीतिक दलका प्रतिनिधिहरूसँग आइतबार छलफल गरेको छ ।

छलफलका क्रममा आयोगले आगामी १५ माघमा मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मकालु खबरलाई जानकारी दिए । ‘मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम शुरु भएको छ’, प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘त्यो कार्यक्रमअन्तर्गत स्थानीयदेखि केन्द्रसम्म अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन हुन्छ । अद्यावधिक गर्ने सन्दर्भमा माघको १५ गते सबै त्यो स्थानीय तहको मतदाताको नामावली प्रकाशन गरिन्छ । त्यसमा पनि कुनै त्रुटि भए सच्याउने, दोहोरो नाम परे हटाउने, झुटा विवरणहरु भएमा हटाउने, मृत्यु भएको व्यक्ति र बसाइ सरेर गएका व्यक्तिहरुको विवरण सच्याउने हटाउने १५ देखि २१ सम्ममा सम्पन्न हुन्छ । १५ गते चाहिँ मतदाता नामावलीको त्यो स्थानीय तहको केन्द्रमा प्रकाशन गरिन्छ ।’

यता राजनीतिक दलका प्रतिनिधिहरुले भने मतदान केन्द्रको विषयमासमेत छलफल भएको बताएका छन् । छलफलमा सहभागी दाहाल–नेपाल नेतृत्वको नेकपा नेता राजेन्द्र पाण्डेले उल्लिखित विषयमाथि छलफल भएको बताउँदै अहिल्यै चुनाव हुने अवस्था नरहेकोले चुनावको नाममा अनावश्यक खर्च नगर्न सुझाव दिएको बताए ।

गत ५ पुषमा प्रतिनिधि सभा विघटन भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी १७ र २७ बैशाखको लागि चुनावको मिती तोकेकी छन् ।

प्रतिक्रिया