दाहाल–नेपाल निर्वाचन आयोगमा, पदाधिकारीसँग छलफल

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल कार्यक्रम अगाडि नबढाउन माग गर्दै निर्वाचन आयोग पुगेका छन् । दाहाल–नेपाल थप कार्यक्रमलाई स्थगित गर्न माग गर्दै सोमबार दिउँसो आयोग पुगेका हुन् ।

दाहाल–नेपाल पक्षका नेता लीलामणि पोखरेलले दिएको जानकारीअनुसार अहिले आयोगका पदाधिकारीहरुसँग छलफल भइरहेको छ ।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदातलमा विचाराधीन अवस्थामा रहेकाले निर्वाचन प्रक्रिया अगाडि नबढाउन आयोगलाई आग्रह गरिने पोखरेलले बताए । उनले भनेका छन्, ‘निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कार्यक्रम तय गरेको छ । त्यसैअनुसार जिल्लाहरुमा बैठक शुरु गरेको छ । संसद् विघटनको विषय सर्वोच्च अदालतमा छ । यो निर्णय नभएसम्म निर्वाचन हुने नहुने अनिश्चित छ । त्यसलाई प्रभावित पार्ने गरी निर्वाचन आयोगले काम अगाडि बढाउनु हुँदैन भन्ने हाम्रो माग हो ।’

यसअघि आयोगले दाहाल–नेपाल र केपी शर्मा ओली दुवै पक्षको नेकपालाई ७ दिनभित्र आधिकारिक दाबी पेश गर्न पत्राचार गरेको छ । गत ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेपालको राष्ट्रिय राजनीति भद्रगोल भएको छ ।

प्रतिक्रिया