सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पटक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्टर क्षेत्रफलमा एक हजार ७०० रुद्राक्षका बिरुवा रोपिएको हो ।
डिभिजन वन कार्यालय तनहुँको समन्वय तथा मालागिरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा सुरु गरिएको अभियानले वन संरक्षणसँगै धार्मिक, पर्यावरणीय तथा आर्थिक महत्त्व बोकेको वन क्षेत्रको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
सगरमाथा वृक्षरोपण महाअभियानको अवसर पारेर उक्त ठाउँमा रुद्राक्ष रोपण गरिएको कार्यालयका प्रमुख मनोज रानाभाटले जानकारी दिए । उनले सम्भवतः गण्डकी प्रदेशमै पहिलो पटक ठूलो सङ्ख्यामा रुद्राक्ष रोपण अभियान सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार रुद्राक्षका बिरुवा स्थानीय हावापानीअनुसार हुर्काउन सकिने भएकाले यसको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिइनेछ ।
“रुद्राक्ष धार्मिक आस्थासँग जोडिएको बहुमूल्य वनस्पति हो । यसको संरक्षण, विस्तार र व्यावसायिक उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो”, रानाभाटले भने । सामुदायिक वनमा एक हजार सात सय वटा खाडल खन्ने कार्य जेठ महिनाभित्र सम्पन्न गरिएको मालागिरी सामुदायिक वन उपभोक्ता समूहका सचिव सिद्ध खाँडले जानकारी दिए ।
उनका अनुसार सामुदायिक वनमा आबद्ध ८३ घरधुरीका सबै उपभोक्ताको प्रयासमा खाडल खन्ने कार्य गरिएको थियो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले रुद्राक्ष रोपण अभियानले नगरको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले वन संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण र स्थानीय नागरिकको आर्थिक समृद्धिमा यस अभियानले योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
“मालागिरी सामुदायिक वनलाई केवल हरियाली संरक्षणमा सीमित नराखी धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने नगरपालिकाको लक्ष्य छ”, पण्डितले भने । उनका अनुसार नगरपालिकाले सामुदायिक वनसँग सहकार्य गर्दै वन क्षेत्रको दिगो व्यवस्थापन, जैविक विविधताको संरक्षण तथा स्थानीय बासिन्दाको आयआर्जन वृद्धि हुने कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ ।
रुद्राक्ष उत्पादनलाई भविष्यमा व्यावसायिक रूपमा विस्तार गर्न सके स्थानीयलाई रोजगारी सिर्जना हुनुका साथै नगरको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।









