दुवै नेकपालाई निर्वाचन आयोगको सात दिने म्याद

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि अघोषित रुपमा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्षलाई कानूनअनुसार मागदाबी पेश गर्न निर्वाचन आयोगले पुनः सात दिने म्याद दिएको छ ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल नेतृत्वको दुवै नेकपाले आयोगले पुनः आधिकारिक दाबीसहित प्रमाण पेश गर्न भनेको हो ।

दुवै पक्षले आफू वैधानिक र आधिकारिक भएको बताउँदै आएका छन् । यद्यपि, ऐनले तोकेको प्रक्रियाअनुसार दुवै पक्षले दाबी पेश गर्न नसकेपछि आयोगले बिहीबार पुनः दुवै पक्षलाई यस्तो पत्राचार गरेको हो ।

विभाजनको अपसजबाट बच्न दुवै पक्षले रितपूर्वक मागदाबी नगरेका कारण आधिकारिकता विवाद टुंग्याउन कठिन भएपछि आयोगले पुनः पत्र काटेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भनेका छन्, ‘नेकपा विवादमा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २५ उपनियम ४ बमोजिम विवादका दुवै पक्षलाई सुधारसहितको प्रतिवेदन पेस गर्न सात दिनको म्याद दिएर पत्र पठाउने निर्णय भएको छ ।’

यसअघि पनि आयोगले रितपूवर्क दाबी पेश गर्न भनेको थियो । जसमा दुवै पक्षले पेश पनि गरेका थिए । तर, उक्त दाबी कानूनसम्वत् नभएको आयोगले ठहर्दै पुनः पत्राचार गरेको हो ।

प्रतिक्रिया