भैंसी पूजा जस्ताे हाेइन पशुपति दर्शन : सूर्य थापा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पशुपतिनाथमा प्रधानमन्त्रीले गरेको पूजाको सर्वत्र प्रशंसा भइरहेको बताएका छन् । पूजाका विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला प्रेस सल्लाहकार थापाले फेसबुकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ब्यँग्य गर्दै पशुपतिनाथकाे पूजा भैंसी पूजा जस्ताे नभएकाे टिप्पणी गरेका हुन् ।
उनले फेसबुकमा ओली र प्रचण्डको फोटाे राखेका छन् । पहिलो फोटो प्रधानमन्त्री पशुपतिनाथमा पुगेको छ भने दोस्रोमा प्रचण्डले भैंसी पूजा गरेको देखिन्छ । यहि विषयलाई प्रष्टाउँदै उनले भनेका छन्, ‘पशुपतिनाथमा पूजाआजा गरेजस्तो भैंसी पूजा स्वभाविक मानिँदैन ।’
प्रचण्डको फोटोबारे थापाले लेखेका छन्, ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो शक्ति वृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियो ! भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक मानिंदैन । बुझ्ने आ-आफ्नै स्तर हुन्छ । फरकचाहिं यत्ति हो !’
नेकपाको ओली पक्षका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गत पुस १२ गते बिहान पशुपतिनाथ मन्दिर पुगेर संकल्प पूजा गरेका थिए । संसद विघटन गरेर निर्वाचन घोषणा गरेका ओली पशुपतिनाथ मन्दिर धाएको विषयलाई चुनावसँग जोडेर चर्चा भइरहेको छ । पूजाको तीन दिनपछि उनका सल्लाहकार थापाले पुनः यो विषयलाई प्रष्टाउन खोजेका हुन् ।
प्रधानमन्त्री ओलीले सुनको जलारी निर्माणको योजनामा सरकारका तर्फबाट ३० करोड उपलब्ध गराउने प्रतिबद्धता जनाएको पनि उनले उल्लेख गरेका छन् । थापाका अनुसार पहिले पित्तल र तामाको जलारी रहेकोमा अब १४१ किलो सुनको जलारी निर्माणको सुनिश्चितता भएको हो । ‘दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ,’ उनले अगाडि लेखेका छन् ।








