जन्मोत्सव मनाउँदै बबी देवल, यसरी बित्यो ५३औं वर्ष

काठमाडौं । भारतीय अभिनेता बबी देवलको जन्मदिन आज । जन्मदिनमा आज उनको सङ्घर्षको कथा प्रस्तुत गर्दैछौँ । फिल्म ‘बरसात’मार्फत् उनले सन् १९९५मा मुख्य भूमिकामा रहेर अभिनय करिअर् सुरु गरेका थिए । सोही फिल्ममार्फत् नै उनलाई ‘बेस्ट् डेब्यु अवार्ड’ प्राप्त भएको थियो । करिअरको सुरुवाती दिनमा चलचित्रको मुख्य पात्रका रूपमा देखिएका देवल बिस्तारै साइड रोलमा चित्त बुझाउन थाले । राम्रो भूमिका आउन छोडेपछि उनमा मद्यपानको लत समेत लागेको थियो ।

बबीले आफ्नो अभिनय यात्रा बालकलाकारको रूपमा गरेका थिए । आठ बर्षको उमेरमा सन् १९७७मा चलचित्र ‘धर्मवीर’मार्फत् उनले अभिनय सुरु गरेका थिए, जुन चलचित्रको मुख्य भूमिकामा उनका पिता धर्मेन्द्र थिए । उनले सन्  १९९५मा ‘बरसात’मार्फत् डेब्यु गर्दा ट्विंकल खन्नले समेत अभिनय यात्रा सुरु गर्दै थिइन् । खन्नालाई समेत धर्मेन्द्रले नै डेब्यु गराएका थिए ।
बरसातको छायांकनका क्रममा बबी दुर्घटनामा परेका थिए । घोडा चढेका उनको सोही क्रममा दुर्घटना हुँदा खुट्टा भाँचिएको थियो । स्कटल्यान्डमा भएको दुर्घटनापश्चात् उनलाई उपचारका लागि लन्डन लगिएको थियो । सोही कारण उनी पहिलो चलचित्रको प्रचार–प्रसारमा सहभागी हुन पाएका थिएनन् ।
‘बरसात’पश्चात् उनले धेरै चलचित्रमा काम गर्ने अवसर पाए । उनले बबी गुप्ता, और प्यार हो गया, करिब, सोल्जर्स, दिललगीलगायत चलचित्रमा काम गरे । उनको काम बिस्तारै दर्शक र मेकरले मन पराउन छोडे । मुख्य भूमिकामा देखिने बबीलाई साइड रोल पाउन समेत हम्मे–हम्मे पर्न थाल्यो ।
काम पाउन छोडेपछि उनी रक्सी सेवन गर्न थाले । उनले एक अन्तरवार्ताको क्रममा रक्सीको नसामा आफूले आफैँलाई सबैबाट टाढा पुर्याएको बाताएका थिए । उनले आफ्नो सन्तान, श्रीमती र आमाको मनमा परेको पीडा अनुभूत गरे र पुन: काममा फर्किए । अझै मेहनत गर्ने र आफूलाई प्रमाणित गर्ने भनेर उनी फेरी लागे ।  सलमान खानले उनलाई पुन: काममा फर्किन मदत गरेका थिए । सेलिब्रेटी क्रिकेट लिगको समयमा उनले समस्याबाट भाग्न भन्दा पनि जुध्न जरुरी भएको सम्झाएका थिए । यसलगत्तै रेस ३ का लागि बबीलाई अफर आयो ।
रेस ३को असफलताले उनलाई हार चखायो । यमला पगला दिवाना र हाउस फुल ४ समेत सफल हुन सकेनन् । यसपश्चात् २०२०मा आएर ओटीटी प्ल्याटफर्मबाट उनको कामको चर्चा पायो । क्लास अफ ८३ र ‘आश्रम’ सिरिजमार्फत् उनले सफलता पाए ।
प्रतिक्रिया