प्रधानमन्त्रीका अभिव्यक्तिले पदको गरिमालाई धुलिसात बनाए : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । साेमबार विज्ञप्ति निकालेर कांग्रेसले प्रधानमन्त्रीका ओलीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेकाे बताएकाे हाे । 

आफ्नो कदमविरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्ममार्फत् उनले तिनकोभन्दा बढी
आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहने प्रधानमन्त्रीकाे यो प्रवृत्ति दुःखद् र लज्जास्पद रहेकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा संसद् विघटनको असंवैधानिक कदमविरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्रजिम्मेवार ढंगले लाञ्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लाञ्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीलाई नेपाली कांग्रेस कडा चेतावनी दिइएकाे छ ।

प्रधानमन्त्री ओलीले आइतबार  सार्वजनिक कार्यक्रममा, संसद् विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भन्नु अलोकतान्त्रिक रहेकाे तथा यसले उनमा रहेकोे अधिनायक आकांक्षालाई थप उजागर गरेकाे विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेकाे र फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु नागरिकको नैसर्गिक अधिकार भएकाे तथा  कुनै पनि रंग र स्वरुपको अधिनायकवादविरुद्ध संघर्षमा उभिनु देशभक्तको जिम्मेवारी, कर्तव्य र पहिचान हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट रहेकाे उल्लेख  छ।

यस्तै प्रधानमन्त्रीले सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा दिनु अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएकाे तथा सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान भएकाे कांग्रेसले ठहर गरेकाे छ ।

आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति तथा पूर्वप्रधानन्यायाधीशलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रताविरुद्धको बर्बराहट भएकाे टिप्पणी कांग्रेसले गरेकाे छ ।

प्रतिक्रिया