मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचार

प्रदेश १ बैठक : तीन मिनेट बसेर स्थगित

|प्रदेश नंं १ को सातौं अधिवेशनको पहिलो बैठक। तस्वीरः सुमन सुस्केरा, मकालु खबर।|

प्रदेश नं. १ को हिउँदे अधिवेशनको बैठक ३ मिनेट बसेर सकिएको छ । प्रदेश प्रमुखले अधिवेशन आह्वानबारे पठाएको पत्र पढेर सुनाइ बैठक स्थगित भएको हो । पत्रको वाचन सकेलगत्तै सभामुखले बैठक स्थगित भएको जानकारी दिएका थिए ।

त्यहाँ दुवै पक्षको नेकपाले एकअर्कालाई निषेध लगाउने रणनीति बनाएका थिए । तत्पश्चात् कार्यव्यवस्था परामर्श समितिले आजको बैठकमा दुवै खेमाका नेतालाई बोल्न नदिने निर्णय गरेको थियो ।

अहिले ओली प्रतिगमन प्रमुख खतरा हो : बाबुराम भट्टराई

|डा. बाबुराम भट्टराई। फाइल फोटो|

जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले ओली प्रतिगमन प्रमुख खतरा भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तृत हुँदै आएका डा. भट्टराईले यस्तो बताएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले यसमा कुनै किन्तुपरन्तु गर्न आवश्यक नरहेको स्पष्ट पारे । ‘अहिले ओली प्रतिगमन प्रमुख खतरा हो । कुनै किन्तु परन्तु नगरौं ।’

उनले यस्तो बेलाको तटस्थताले बेठीक, असत्य र अन्यायलाई मदत गर्ने टिप्पणी गरे । ‘ठीक र बेठीक बीचको संघर्षमा बढी जानेका भन्ठान्ने भद्रभलाद्मीहरु र गहिरो ज्ञान नभएका सर्वसाधारणहरु प्रायस् तटस्थ बस्छन्, उनी अगाडि भन्छन्- ‘यस्तो बेला तटस्थताले बेठीक-असत्य-अन्यायलाई मद्धत गर्छ । अनि एक पटकमा एउटै कुरा प्रधान हुन्छस अरु सहायक हुन्छन् ।’ पछिल्लो समय सडक संघर्षमा होमिएपनि संसद पुनस्र्थापना या निर्वाचन के भन्ने विषयमा काँगेसले आफ्नो धारण बनाउन नसकेका बेला भट्टराईको यस्तो भनाइ आएको हो ।

बक्यौता विवरण सार्वजनिक नगरे उखु किसानले फेरि आन्दोलन गर्ने

|आन्दोलनरत उखु किसान। तस्वीरः धनबल राई, मकालु खबर|

बक्यौता विवरण सार्वजनिक नगरे उखु किसानले फेरि आन्दोलन गर्ने
चिनी मिल सञ्चालकले तिर्न बाँकी बक्यौता विवरण सार्वजनिक नगरे उखु किसानले फेरि आन्दोलन गर्ने भएका छन् । सम्झौतामा उल्लेखित मिति नाघिसक्दा समेत किसानले बर्षौँदेखिको बक्यौता अझै नपाएकाले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको किसानले बताएका छन् ।

उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले अहिलेसम्म किसानले पाउनुपर्नेमध्ये कति बक्यौता उठ्यो भन्ने भने यकिन विवरण प्राप्त नभएको र बुधबार बेलुकासम्म प्रत्येक किसानले पाउनुपर्ने रकम र पाएको रकमको विवरण सार्वजनिक नगरिए अर्को आन्दोलन घोषणा गर्ने चेतावनी दिए । ‘आज साँझसम्म किसानको बक्यौता विवरण सार्वजनिक गरिएन भने भोलि दोस्रो चरणको आन्दोलन घोषणा गर्छौँ’, उनले मकालु खबरसँग भने ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको जानकारी अनुसार उखु किसानले पाउनुपर्ने ६५ करोड ३१ लाख रुपैयाँमध्ये सम्झौता अवधिमा ५७ करोड २० लाख रुपैयाँ भुक्तानी भइसकेको र अब ८ करोड १ लाख रुपैयाँ मात्रै भुक्तानी हुन बाँकी छ । तर संयोजक मिश्र भने कुन किसानले कति पाउनुपर्ने हो, उसले अहिले कति पायो भन्ने विवरण सार्वजनिक नगरिएका कारण सरकारको तथ्यांकमा विश्वास गर्न नसकिने बताउँछन् । सरकारले यसको विस्तृत विवरण बुधबार बेलुकासम्म सार्वजनिक नगरे आन्दोलन गर्नुको विकल्प नहुने उनको भनाइ छ ।

नेपाली सेनामा अब १६ वर्षमै पेन्सन, २० वर्षमा रकम
नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (निवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ । पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको संख्या ह्वात्तै बढदै गएपछि सैनिक मुख्यालयको पटक–पटकको अनुरोधमा सरकारले सैनिक सेवा नियमावली, २०६९ तेस्रो संंशोधन अघि बढाएको हो ।

रक्षा मन्त्रालयको उक्त प्रस्ताव अहिले मन्त्रिपरिषद्मा पुगेको छ । नियमावलीमा अधिकृतभन्दा तल्लो तहका लागि दर्जागत आधारमा स्वेच्छिक अवकासमा जान सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । विसं २०६० वैशाख २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना भएका फलोअर्स र सिपाहीको पेन्सन अवधि १६ वर्ष बनाउन प्रस्ताव गरिएको छ ।

पिउठ, अमलदार र हुद्दा १७, जमदार १८ तथा सुवेदार र प्रमुख सुवेदारले १९ वर्षमा स्वेच्छिक अवकासमा जान सक्ने नियमावलीले व्यवस्था गरेको छ । सहायक सेनानी तहभन्दा माथिको तहको हकमा भने पेन्सन पाक्ने अवधि २० वर्ष नै कायम हुनेछ ।

अन्तर्राष्ट्रिय व्यापार सहज गर्न आउँदो साताबाट एकद्वार प्रणाली
आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आउँदो सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गरिने भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भन्सार विभागले आगामी सातादेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लाण्ट क्वारेन्टाइन केन्द्रमा एकद्वार प्रणाली सुरु गर्ने जानकारी दिएको हो । विभागका अनुसार तीनवटा विभागबाट सुरु गरिने कार्यक्रम चरणवद्ध रुपमा विस्तार गरिनेछ, जसमा सरकारी र निजी क्षेत्र रहनेछन् ।

भन्सार विभागका अनुसार एकद्वार प्रणाली सुरु भएपछि तीनवटै विभाग र अन्तर्गतका कार्यालयहमा डिजिटल प्रणालीको सुरुवात हुनेछ । लाइसेन्स वा अनुमतिका लागि निकास तथा पैठारीकर्ता विभाग तथा कार्यालयहमा पुगिराख्नु पर्ने छैन । पेपरवर्क (कागजी काम) हुने छैन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकद्वार प्रणाली सुरु भएपछि व्यापारका लागि सहजीकरण हुने, अनियमितता र राजस्व चुहावट नियन्त्रण हुने, कार्य सम्पादन छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

बुधबार थपिए ३१८ संक्रमित, ३८३ जना निको हुँदा थप ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३१८ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९बुधबार० ३८३ जना संक्रमित निको भएका छन् भने थप ६ जनाको मृत्यु भएको छ । आज क्वारेन्टिनमा १७२ जना रहेका छन् । सक्रिय संक्रमित संख्या ३ हजार ६९३ रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै बुधबार काठमाडौं उपत्यकामा मात्रै १४५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ११६, भक्तपुरमा ३ र ललितपुरमा २६ जनामा संक्रमण पुष्टि भएको हो । आजको थप अपडेटसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । संक्रमितमध्ये २ लाख ६२ हजार ६४२ जना निको भइसकेका छन् भने मृतक संख्या १ हजार ९७५ पुगेको छ ।

बिहीबार वडास्तरीय विरोध प्रदर्शनमा सहभागि हुन कांग्रेसको आग्रह
नेपाली कांग्रेसले बिहीबार हरेक पालिकाको वडा वडामा संसद विघटनविरुद्ध प्रदर्शन गर्ने भएको छ । यसअघि निर्धारित विरोध प्रदर्शन कार्यक्रममा सक्रिय सहभागि भएर संसद विघटन विरुद्ध ऐक्यवद्धता प्रकट गर्न हुन काँग्रेसले नेता कार्यकर्तालाई आग्रह गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार निकालेको विज्ञप्तिमा भनिएको छ – ‘केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटना विरुद्ध नेपाली कांग्रेसले भोलि माघ ८ गते बिहीवार ६ हजार ७ सय ४३ वडामा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा हार्दिक अपील गर्दछु ।’

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ वटै पालिकामा विरोध प्रदर्शन गरेको थियो । ती विरोध प्रदर्शन सफल भएको भन्दै र बिहीबारको प्रदर्शन पनि सफल बनाउन सभापति देउवाले आग्रह गरेका छन् । संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावनाविपरीतको कार् विरुद्ध नेपाली कांग्रेस एकमत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भारतले नेपाललाई दियो १० लाख डोज कोभिडविरूद्धको खोप
भारतले १० लाख डोज कोभिडविरूद्धको भ्याक्सिन नेपाललाई अनुदानमा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (बुधबार) पत्रकार सम्मेलन गर्दै अनुदानमा प्राप्त १० लाख डोज खोप भोलि (बिहीबार) काठमाडौं आइपुग्ने जानकारी दिएको छ । मन्त्रालयका अनुसार पहिलो चरणमा ल्याइने खोप स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सफाइकर्मी लगायत कोभिडविरूद्ध अग्रपंक्तिमा खटिएका योद्धाहरूलाई लगाइने छ ।

पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयदेश त्रिपाठीले प्रतिकुल अवस्थाका बाबजुद पनि नेपाललाई खोप उपलब्ध गराएको भन्दै भारत सरकारलाई धन्यवाद दिए । उनले भने, ‘खोपका लागि प्राविधिक, आर्थिक, कानुनी सबै प्रक्रिया पुरा भइसकेको छ । नेपाल-भारत मित्रताको अनुपम उपहार हो यो, हामीले यो सहयोगलाई महत्वका साथ लिएका छौँ ।’ स्वास्थ्यमन्त्री त्रिपाठीका अनुसार पहिलो लटको उक्त खोप बाँकी रहेमा जोखिममा रहेका अन्य जनसंख्यालाई पनि लगाइने छ । उनले दोस्रो चरणको खोप खरिदका लागि पनि प्रक्रिया अघि बढाइने र खरिद प्रक्रिया पारदर्शी हुने पनि बताए ।

नेपालले कुल जनसंख्याको ७२ प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराउने यसअघि नै सरकारले जानकारी गराइसकेको छ । भारतमा बनेको ‘कोभिसिल्ड’ खोप वितरणका लागि नेपाल सरकारले जनशक्ति पनि तयारी अवस्थामा राखेको छ । भण्डारण र ढुवानीका लागि यो भ्याक्सिन नेपाल अनुकुल हुने बताइएको छ ।

काठमाडौँ विश्वविद्यालयको नेतृत्व दोश्रो पुस्तामा
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा. भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका सहकुलपति तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित समितिको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा। थापालाई नयाँ कुलपति नियुक्त गरेको सूचना विश्वविद्यालयमा आएको तर औपचारिक पत्र भने आउन बाँकी नै रहेको विश्वविद्यालयका सूचना प्रमुख तथा प्रवक्ता हेमराज काफ्लेले मकालु खबरलाई जानकारी दिए ।

उपकुलपति छनोटका लागि विश्वविद्यालयले गठन गरेको समितिले पहिलो नम्बरमा वर्तमान उपकुलपति प्रा। रामकण्ठ माकजु, दोश्रो नम्बरमा थापा र तेश्रो नम्बरमा प्रा. बालचन्द्र लुईटेलको नाम सिफारिस गरेको थियो ।

उपकुलपति चयन गर्ने समितिमा संरक्षण समितिका अध्यक्ष र संस्थापक उपकुलपति सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो । समितिले यसपटक उपकुलपतिका लागि इच्छुकहरुको दरखास्त आह्वान गरेको थियो । उपकुलपति बन्न अरु विश्वविद्यालयका प्राध्यापकहरुको पनि आवेदन परेको भएपनि काठमाडौँ विश्वविद्यालयकै तीनजना प्राध्यापकलाई सिफारिस गरेको थियो । अहिलेका उपकुलपति प्रा. डा. माकजुको कार्यकाल बुधबारसम्म रहेको प्रवक्ता काफ्लेले जानकारी दिए ।

सेयरबजारमा १५ अंकको सुधार
साताको चौथो दिन शेयर बजारलाई १५.८७ अंकको सुधार मिलेको छ । मंगलबार ५.५७ अंकले खस्किएको बजारमा बुधबारको उक्त सुधार भएको हो । बुधबार शेयर बजार परिसूचक २३४२.७६ अंकमा पुगेको छ ।

परिसूचक बढेको देखिए पनि कारोबार रकम र कारोबार भएको शेयर संख्या मंगलबारको तुलनामा कम छ । बुधबार ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँमा २ सय ११ कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता सेयर खरिदबक्री भएको छ ।

बकी मंगलबार सेयर बजार परिसूचक ५।५७ अंकले घट्दा पनि ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८ सय ४८ रुपैयाँमा १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता शेयर खरिदबिक्री भएको थियो । कारोबार हुने कम्पनीको संख्या भनेको छ । मंगलबार २०६ कम्पनीको शेयर मात्रै कारोबार भएको थियो ।

 

प्रतिक्रिया