मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

ओलीको पक्षमा उभिन खेलाडीहरूलाई मन्त्री थापाकाे आव्हान

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्व र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिन सम्पुर्ण खेलाडीहरुलाई आह्वान गरेका छन् ।

ललितपुरमा मंगलबार आयोजित अखिल नेपाल खेलकुद महासंघको राष्ट्रियभेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री थापाले देशलाई विकासको दिशामा अघि बढाई राजनीतिक स्थायित्व कायम गराउनका लागि प्रधानमन्त्री ओलीको पक्षमा उभित्र खेलाडीहरुलाई आह्वान गरेका हुन् । उनले प्रचण्ड–नेपाल समुहलाई ‘गुट’ को संज्ञा दिँदै पार्टी फुटाउने र गुटबन्दी गर्नेको नभई पार्टीको पक्षमा उभिन निर्देशन दिए ।

‘हामी पार्टीको पक्षमा उभिने कि गुटको पक्षमा उभिने ? नेकपा फुट्नु र फुटाउनु ठिक थियो त ? नेकपा फुटाएर देशको विकास सम्भव छ ? नेकपा संसदीय दललाई विभाजन गरेर र नेकपाको नेतृत्वलाई अपदस्त गरेर सरकारको प्रधानमन्त्रीलाई हटाएर के देशमा राजनीतिक स्थायित्व कायम हुन्छ ? स्थिरताको पक्षमा उभिने कि अस्थिरताको पक्षमा उभिने ?’, उनले प्रश्न गरे ।

यस्तै मन्त्री थापाले मुलुकमा अस्थिरता चाहनेहरु र एकाता र स्थिरता चाहनेहरु विभाजित भएको र यस्तो अवस्थामा देशप्रेमी खेलाडीहरु स्थिरता र एकताको पक्षमा उभिनुपर्नेमा जोड दिए । साथै भेलामा भएको उपस्थितिले पनि स्थिरताको पक्षधर धेरै भएको पुष्टि गरेको उनले बताए ।

प्रतिकृयाहरु
Loading...