पाँच जना ‘सदाचार नायक’ घोषणा

काठमाडौं । अकाउन्टिबिलिटी ल्याब नेपालले पाँचजनालाई सदाचार नायक (इन्टेग्रीटी आइकन) घोषणा गरेको छ ।

जनस्वास्थ्य निरीक्षक आरती थारु, महाशाखा प्रमुख, दिपक ज्ञवाली, बाली संरक्षण अधिकृत हेमबहादुर आले, महिला अधिकृत मञ्जु महत र शिक्षक डा. नविनबन्धु पहाडीलाई सदाचार नायक घोषणा गरिएको ल्याबले जनाएको छ ।

इन्टेग्रीटी आईकन सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न ७ वर्ष अघि नेपालबाट सुरु भएको हो । अहिले यो अभियान विश्वका १२ देशमा पुगिसकेको ल्याबले जनाएको छ ।

यस वर्ष देशभरीबाट प्राप्त भएका १ हजार ५ सय २ मनोनयनबाट निर्णयक समितिले छनोट गरिएको हो । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, अधिकार सम्पन्न संघीय प्रशासनिक पुनः संरचना सहजिकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशिराज दाहाल, पूर्र्वसचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र आईआईडीएस सेन्टर फर गभर्नेन्सका निर्देशक सुचिता प्याकुरेल रहेको ल्याबले जनाएको छ ।

हाल नेपालगञ्ज स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक आरती थारुले प्युठानमा कार्यरत हुँदा सुत्केरीका लागि गरेको काम उल्लेखनीय छ । उनले त्यहाँ रहँदा, सुत्केरी सेवा सबैको पहुँचमा पुर्याउन बर्थिङ सेन्टर सबैको पायक पर्ने ठाउँमा राख्न अग्रणी भुमिका निर्वाह गरिन् । नेपालगञ्जमा कोभिड – १९ महामारीको समयमा उनले क्वारेन्टाईनमा काम गर्दा देखाएको साहश, आईसोलेशन र होम आईसोलेशनमा बस्ने संक्रमितलाई गरेको सेवा प्रसंशनीय रहेको संस्थाले जनाएको छ ।

यस्तै, महाशाखा प्रमुख दिपक ज्ञवालीले वनलाई आयस्रोतको माध्यम बनाउन सकिन्छ, अतिक्रमित बन राज्यको नाममा फिर्ता गर्न जोखिमको सामना गर्न सक्नुपर्दछ र समुदाय तथा विशेष गरेर महिला समुह परिचालन गरेर तस्करीलाई निरुत्साहन गर्न सकिन्छ भनेर उदाहरण प्रस्तुत गरेर उदाहरणीय बनेकाले छनोट गरिएको संस्थाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

कृषि ज्ञान केन्द्र, ओखलढुंगामा कार्यरत बाली संरक्षण अधिकृत, हेमबहादुर आले मगरले कृषकलाई दीगो व्यावसायिक खेती गर्ने तालिम दिन फार्म स्कुल सञ्चालन गरेका छन् । त्यसबाट कृषकले खेती गर्ने तरिका र प्रविधिको उचित प्रयोग गरेर आयआर्जन गर्न सके । त्यसै गरेर, कृषकको समस्या बुझेर समाधान गर्न, वास्तविक कृषकको पहिचान गरेर प्रभावकारी स्रोत परिचालन गर्ने लगायत काममा पनि उल्लेख्य भूमिका निर्वाह गरेको संस्थाले जनाएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, मंगलसेन नगरपालिका, अछाममा कार्यरत अधिकृत मञ्जु महतले अछाममा घरेलु हिँसा र छाउपडी प्रथा कम गर्न र बालबालिकाको नेतृत्व विकास गर्नमा योगदान गरेको पुरस्कृत गरिएको संस्थाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरि, नीलकण्ठ मावि धादिङका शिक्षक डा. नविनबन्धु पहाडीले धादिङमा दलित र सिमान्तकृत समुदायका बालबालिकाको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रि व्यक्ति तथा संस्थासँगको सहकार्यमा विद्यालय स्थापना गर्न नेतृत्वदायी भुमिका निर्वाह गरेका छन् । आमाबाबु गुमाएका बालबालिका अभावका कारण पढाईबाट बञ्चित नहोउन भन्नका लागि बाल अनाथाश्रम पनि सञ्चालन गरेका छन् ।

कोभिड महामारीका कारण यसपटक अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रीटी आईकन २०२० लाई सार्वजनिक गरिएको जनाएको छ ।

पाँचैजनाको परिचय सहित कामको विवरण समेटेर तयार बनाइएको भिडियो फेसबुक, ट्वीटर र इन्स्टाग्रामबाट आउँदो एक हप्ता भरी प्रस्तुत गर्ने र आगामी माघ ९ गते भर्चुअल माध्यमबाट सम्मान समारोह आयोजना गर्ने संस्थाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया