ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी अन्तिम चरणमा, कस्तो रहला पेन्सको प्रतिक्रिया ?

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाअभियोग लगाउने तयारी अन्तिम चरणमा पुगेको छ । तल्लो सदनमा बहुमत रहेको डेमोक्र्याटिक पार्टीका सांसदको अगुवाईमा ट्रम्पविरुद्ध पुनः महाअभियोग लगाउने तयारी गरिएको हो ।

सभामुख न्यान्सी पेलोसीले संविधानको २५औं संशोधनलाई सक्रिय बनाएर ट्रम्पलाई सत्ताच्यूत गर्न उपराष्ट्रपति माइक पेन्सलाई अपिल गर्ने र सो अनुसार नभए ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुर्याइएको सिएनएनले उल्लेख गरेको छ ।

२५औं संशोधन सक्रिय बनाउने अपिलबारे उपराष्ट्रपति पेन्सले २४ घण्टाभित्र जवाफ दिनुपर्ने छ । अहिलेसम्मका रिपोर्टिङ्गहरुमा पेन्स २५औं संशोधन सक्रिय बनाउने पक्षमा देखिएका छैनन् ।

तर सिएनएनका चिफ ह्वाइट हाउस रिपोर्टर जिम एकोस्टाका अनुसार पेन्सले २५औं संशोधनको विकल्पलाई पूर्ण रुपमा बन्द भने गरेका छैनन् ।

पेन्सको जवाफ सोचेजस्तो नआएमा मंगलबार तल्लो सदनमा महाअभियोग प्रस्तावमाथि मतदान गर्ने तयारी भएको छ । यसअघि ट्रम्प समर्थकहरुले क्यापिटल बिल्डिङ्गमा आक्रमण गरेका थिए । जहाँ ४ जनाको ज्यानसमेत गएको थियो ।

प्रतिक्रिया