अमेरिकी संसद् भवनमा ट्रम्प समर्थकको आक्रमण : वासिङ्गटन डीसीमा कर्फ्यू, के भन्छन् बाइडेन ?

एजेन्सी । अमेरिकी संसद् भवन क्यापिटल बिल्डिङ्गमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले हिंसात्मक घटना घटाएका छन् । तत्पश्चात् त्यहाँ कर्फ्यू लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कर्फ्यू स्थानीय समयानुसार बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहानसम्म लागू गरिएको छ । अधिकारीहरुले क्यापिटल बिल्डिङ्ग भने सुरक्षित रहेको बताएका छन् ।

ट्रम्प समर्थकहरुले बुधबार क्यापिटल बिल्डिङ्गमा प्रवेश गरेर हिंसा शुरु गरेका थिए । इलेक्टोरल मतगणना गरेर जो बाइडेनको जित औपचारिक रुपमा घोषणा गर्न संसद्को बैठक बसिरहेका बेला हिंसा भएको हो ।

संसद्मा बहस चलिरहेका बेला अचानक ट्रम्प समर्थक भवनभित्र प्रवेश गरेका थिए भने त्यसकै कारण बहस रोकिएको थियो । उनीहरुले निर्वाचन रद्द गर्नुपर्नेलगायतका माग गर्दै प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडपसमेत भएको थियो ।

अवस्था नियन्त्रणबाहिर गएपछि नेसनल गार्डलाई परिचालित गरिएको थियो । उक्त क्रममा प्रहरीले १३ प्रदर्शनकारीलाई पक्राउ गरेको छ भने ५ वटा बन्दुक बरामद गरेको छ । झडपका क्रममा एकजनाको ज्यान गएकाे छ ।

यो विद्रोह हो : वाइडेन
नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले यसलाई विद्रोहको संज्ञा दिएका छन् ।

डोलावरबाट देशवासीको नामा सम्बोधन गरेका उनले ट्रम्प समर्थकलाई पछि हट्न र प्रजातान्त्रिक प्रक्रियालाई अगाडि बढाउन दिन आग्रह गरेका छन् । ‘यो कुनै विरोध होइन’, सम्बोधनका क्रममा बाइडेनले भनेका छन्, ‘यो विद्रोह हो ।’

बाइडेनले आगामी २० जनवरीबाट अमेरिकी राष्ट्रपतिको औपचारिक जिम्मेवारी सम्हालनेछन् ।

ट्रम्पको ट्वीटर अकाउन्ट लक
यसैबीच ट्वीटरले ट्रम्पको अकाउन्ट ‘लक’ गरेको छ । कम्तिमा १२ घण्टाका लागि ट्रम्पको अकाउन्ट लक गरिएको ट्वीटरले जनाएको छ ।

खासगरी बिल्डिङ्गमा घटना र चुनावबारे बिनाप्रमाणका दावीसहितको ट्वीटका कारण उनको अकाउन्ट लक गर्नुपरेको ट्वीटरले जनाएको छ ।

‘अहिले भइरहेको असामान्य गतिविधि र वासिङ्गटन डीसीमा जारी हिंसात्मक गतिविधिका कारण उनले आज पोस्ट् गरेका तीन ट्वीट हटाउनु परेको छ, ती ट्वीटले हाम्रो नीति उल्लंघन गरेका छन् । ट्रम्पले तीन ट्वीट डिलिट नगरेमा उनको अकाउन्ट लक नै रहने छ ।’

यसैबीच ट्वीटरले ट्रम्पले उक्त ट्वीट नहटाए अकाउन्ट सदाका लागि लक रहेन चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया