चितवनमा आइतबारदेखि चरा गणना,सौराहामा औपचारिक उद्घाटन

ध्रूव राज खनाल

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारबाट चरा गणना सुरु गरिदै छ ।

बर्ड एजुकेशन सोसाइटी चितवनको आयोजनामा चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चरा गणना गरिने छ । सोसाइटीले सौराहामा शुक्रवार एक कार्यक्रमको आयोजना गरी गणनाको औपचारिक उद्घाटन गर्दै संरक्षणकर्मीहरुसंग अन्तक्रिया समेत गरेको छ ।

चरा रहेका क्षेत्रलाई विभिन्न भागमा बाँडेर गणना गरिँदै छ । कसरादेखि लोथरसम्म एउटा क्षेत्र हुनेछ । लोथरदेखि जिन्दगानी घाटसम्म, जिन्दगानी घाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म तीन भाग बनाएर डुङ्गाबाट गणना गरिने सोसाइटीका उपाध्यक्ष लोजिककृष्ण श्रेष्ठले जानकारी दिए ।

निकुञ्जभित्रको लामिताल, तमोरताल, गरुढताल, बिसहजारी तालमा गणना गरिँदै छ ।

बिसहजारी तालभित्रका बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल र राइनो तालमा गणना गरिने उनले जानकारी दिए । बूढी राप्ती, ढुङ्ग्रे खोला, भण्डाको मत्स्यपालन केन्द्रमा पनि गणना गरिने छ । छ दिनभित्र गणना सम्पन्न गर्ने गरी तयारी गरिएको छ । गतसाल जिल्लामा ६४१ प्रजातिका चरा फेला परेका थिए । तीमध्ये ५७ जल प्रजातिका थिए । देशभरमा यो सङ्ख्या ८८७ रहेको छ । चरा गणनाका लागि सौराहा क्षेत्रका विभिन्न सङ्घ संस्थासँग सहयोग जुटाइएको छ ।

गणना कार्यमा क्यामेरा, वाइनोकुलर र टेलिस्कोपलगायतका उपकरण प्रयोग गरिने सोसाइटीका पूर्व अध्यक्ष बासु विडारीले जानकारी दिए । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गरिने उनको भनाई छ । चरासंरक्षणकर्मीहरु बद्री चौधरी,टीका गिरी,बासु विडारी,रमेश चौधरी,दिनेश गिरी,टेकबहादुर गुरुङको नेतृत्वमा चितवन निकुञ्ज र यस आसपासको मध्यवर्ती क्षेत्रमा पानी चराको गणना हुने छ ।

निकुञ्जका पूर्वी सेक्टर प्रमुख प्रकास उप्रेती प्रमुख अतिथि रहेको सो कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा।बाबुराम लामिछाने,मृगकुञ्ज उपभोक्ता समितिका सचिव सागर मिश्र,वडा सदस्य किरण महतो,बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ,रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सोसाइटीका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया