पहिरोले विभिन्न राजमार्गको यातायात सेवा आंशिक प्रभावित

काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर सात प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १२ राजमार्ग आंशिक रूपमा प्रभावित भएका छन् ।

सडक विभागले अवरुद्ध भएका सडक खण्डमध्ये ५१ सडक मर्मतपछि पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी सडक खुलाउने काम तीव्र रूपमा भइरहेको जनाएको छ ।

विभागका प्रवक्ता श्यामबहादुर खड्काले पहिरोका कारण अवरुद्ध सडक खुलाउन सम्बन्धित स्थानमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण परिचालन गरी मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तीव्रता दिइएको जानकारी दिए ।

उनले यात्रुहरूलाई यात्राअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरे ।

नेपाल प्रहरीका अनुसार ललितपुरस्थित कान्तिलोकपथ, इलामको मेची राजमार्ग, खोटाङको दिक्तेल–भोजपुर सडक खण्ड, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जुरिखोला (तातोपानी जाने बाटो) तथा भोटेकोशी–२ कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन् ।

यस्तै, भोजपुर नगरपालिका–५ जोखिमस्थित मध्य पहाडी लोक मार्ग र रसुवाको पासाङल्हामु सडक खण्ड एकतर्फी सञ्चालनमा रहेका छन् । काभ्रेपलान्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी आवागमन रोकिएको छ ।

उक्त सडकमा बिहान ४ः०० देखि साँझ ६ः०० बजेसम्म भने अवस्थाअनुसार सवारी सञ्चालन गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी, मकवानपुरस्थित कान्तिलोकपथमा पनि सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ ।

सडक विभागले मनसुन अवधिभर जोखिमयुक्त सडकमा निरन्तर निगरानी गरिरहेको र अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति तथा उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 16 =