संसद पुनर्स्थापनाले समस्या समाधान हुँदैन : राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनर्स्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन् । संसद पुनर्स्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुने तर्क गर्दै समस्याको स्थायी समाधान खोज्नुपर्ने बताए । संसद पुनर्स्थापना र मध्यावधि चुनाव दुवै सम्भ्रान्तहरूकाे स्वार्थ रक्षाको एजेन्डा भएको बताए ।

‘संसद पुनर्स्थापनाले अहिलेको समस्या समाधान हुँदैन, यसले सम्भ्रान्तहरूकाे मात्र स्वार्थ रक्षा गर्छ’, राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा भने, ‘स्थायी समाधान गर्ने हो भने बहुल राष्ट्रको निर्माण गर्नुपर्छ ।’

यस्तै उनले देशमा संसद पुनर्स्थापना गरेर फेरि चुनावमा जाँदा अर्को पात्रले प्रतिगमन गर्ने ठोकुवा गरे । अहिलेको संविधान सबै जनताको नभएकाले समस्या आएको महतोको तर्क छ । उनले भने,‘बहुराष्ट्रिय राज्य स्थापना गरेपछि मात्र स्थायी समाधान हुन्छ । त्यसपछि जोसुकै प्रधानमन्त्री भएपनि फरक पर्दैन ।’

किस्ताबन्दीमा संसद पुनर्स्थापनाको कुरा गरेर अलमलाउने गतिविधि भइरहेको पनि उनले बताए । उनले पटक-पटक बहुलराष्ट्रिय राज्य स्थापनामा जानैपर्ने बताए । बहुलतामा नगएसम्म प्रतिगमन भइरहने र गोलचक्करमा देश फसिरहने उनकाे भनाइ छ । आफूहरु बहुराष्ट्रिय राज्य स्थापना गरेरै छाड्ने अभियानमा रहेको पनि उनले बताए । राणा, राजा हुँदै अहिले बनेको संविधानमा पनि स्वार्थ रक्षा नभएपछि प्रतिगमन गरिएको उनकाे आरोप छ ।

प्रधानमन्त्री ओलीलाई श्री ५ महाराजाधिराज केपी ओली भन्दै चोरमाथि चकार गरेको आरोप लगाए । सरकारले चुनाव गर्न सक्छ ? भन्ने प्रश्नमा उनले चुनावले समस्याको समाधान गर्न नसक्ने बताए । महतोले भने, ‘अमेरिकामा एउटा संविधान २ सय वर्ष भइसक्यो, भारतमा ६५ वर्ष भइसक्यो । ७० वर्षमा नेपालमा सातवटा संविधान बनिसक्दा पनि समस्या के हो ?’ आफूहरुले बहुल राज्य स्थापना गरेर स्थायी समाधान निकाल्ने पनि उनले दाबी गरे ।

प्रतिक्रिया