प्रधानमन्त्रीले राजीनामा दिएर पार्टी एकता जोगाउनुपर्थ्याे

काठमाडौं । नेकपाका नेता तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफ्नै पार्टीभित्र अल्पमतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् ।

राष्ट्रियसभामा आफ्नो पहिलो मन्तब्य राख्दै नेता गौतमले पार्टीभित्रै अल्पमतमा परेपछि राजीनामा दिएर पार्टी विभाजन रोक्ने अन्तिम अवसर भएपनि प्रधानमन्त्री ओली त्यसबाट चुकेको बताएका हुन् ।

प्रधानमन्त्रीले राजीनामा दिएको भए पार्टी विभाजनबाट जोगिने, सरकार र पार्टीको सम्बन्ध राम्रो हुनुका साथै कम्युनिष्ट आन्दोलनमा लागेकाहरुका लागि आत्मबल तथा पार्टी र सरकारको सम्बन्ध राम्रो बनाउन चाहनेलाई शिक्षा हुनेमा तर त्यसो हुन नसकेको गौतमको भनाइ छ ।

‘मैले प्रधानमन्त्री ओलीको ठाउँमा आफू भए के गर्थेँ भनेर सोचेँ’, गौतमले भने, ‘म भए राजीनामा दिन्थेँ ।’

प्रधानमन्त्री ओलीले पटकपटक आफूलाई अविश्वासको प्रस्तावबाट हटाउन खोजे दुर्भाग्यपूर्ण हुन्छ भनेर चेनावनी दिने गरेकोमा आफूले अल्पमतमा परे प्रधानमन्त्री नै भएपनि राजीनामा दिनुपर्ने सुझाव दिएको तर ओलीले नमानेको गौतमको भनाइ छ ।

‘प्रधानमन्त्रीको कार्यशैलीको म कटु आलोचक हुँ’, गौतमले भने, ‘उहाँको कार्यँशैलीले पार्टीभित्र अनेकौँ विवाद निम्त्याएका छन् ।’ दुई पटक प्रधानमन्त्री हुँदा नै आफूले यसबारे ओलीको ध्यानाकर्षण गराएपनि केही सुनुवाई भएको तर केही उस्तै रहेको गौमतले बताए ।

आठ नौ महिनादेखि नै नेकपामा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपनि आफूले त्यसलाई रोक्न सकेको तर यसपटक आफूलाई पनि नसोधि अविश्वासको प्रस्ताव ल्याइएको गौतमको गुनासो छ । ‘अविश्वासको प्रस्तावबाट आफ्नै दलको नेतालाई पराजित गर्ने काम होला भन्ने सोचेको थिइँन,’ उनले भने, ‘पार्टीमा विभिन्न आरोप प्रत्यारोपसहितका पत्र आउँदा पनि सुधारको निम्ति सम्भव उपाय हुन्छ भनेर अघि बढेँ, तर यस पटक अविश्वासको प्रस्ताव ल्याउँदा मलाई सोधिएन ।’

प्रतिनिधिसभा विघटन गर्नु गलत भएकाले नै आफूले यो असंवैधानिक भन्ने टिप्पणी गरेको तर अब यो विषय सर्वोच्चको संवैधानिक इजलासमा विचाराधिन रहेकाले आफूले यसमा केही पनि नबोल्ने गौतमले बताए । पार्टी विभाजनको कुनै औचित्य नभएको र यसका लागि नेकपाका दुवै पक्ष दोषी रहेको उनकाे भनाइ छ । पार्टी विभाजन पछि दुवै समुहका मुख्य नेता समाजवादी सभ्यता निर्माण गर्छौँ भन्नेहरूका लागि लाज हुने गरि एक अर्काविरुद्ध उत्रिएको टिप्पणी पनि गौतमले गरे ।

गौतमको प्रश्न छ- ‘तीन वर्षमा विभाजन गर्नुपर्ने थियो भने एकता किन गर्नुपर्थ्याे ?’

पार्टीभित्र अन्तरविरोध हुँदैन भन्ने सोच्नु गलत र मुर्खतापुर्ण निष्कर्ष भएको उनकाे दाबी छ । बादविवाद र अन्तरविरोध हुनु र त्यहिँबाट निष्कर्ष निकालेर पार्टीलाई नयाँ जीवन दिइनुपर्ने उनको धारणा छ । विवाद र अन्तरविरोधबाट भागेर होइन त्यसबाट समाधान दिएर अघि बढ्ने ब्यक्ति नै नेता हुने गौतमको तर्क छ । ‘नेता त्यो हो जसले पार्टीभित्रका समस्या समाधान गर्छ र अन्तरविरोधको सही विश्लेषण गरि समाधान दिँदा पार्टीलाई नयाँ जीवन प्रदान गर्छ ।’

आफू अहिले कुनै पनि समुहमा नरहेको र पार्टी एक बनाउन सक्छु कि भनेर लागिरेहको गाैतमले बताए ।

प्रतिक्रिया