‘शेरधन राईले सांसदहरुलाई निलम्बन गर्नु षड्यन्त्रको उपज मात्रै हो’

काठमाडौं । प्रदेश नं. १ का निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री शेरधन राईले आफूहरुलाई धम्क्याउने काम गरेको बताएका छन् ।

बिहीबार मुख्यमन्त्री राईले प्रस्तावित मुख्यमन्त्री भीम आचार्यसहित १५ जना सांसदहरुलाई निलम्बन गरेपछि मकालु खबरसँग कुराकानी गर्दै मन्त्री आङ्बोले यस्तो बताएका हुन् । ‘उहाँलाई स्पष्टीकरण सोध्ने, सांसदहरुलाई निलम्बन गर्नेलगायतका अधिकार नै छैन । उहाँले यस्ता कदम चाल्ने कानूनी तथा संवैधानिक वैद्यता गुमाइसक्नुभएको छ’, मन्त्री आङ्बोले कुराकानीको क्रममा भनेका छन् ।

यसैबीच मन्त्री आङ्बोले मुख्मयन्त्री राईको निलम्बनको कुनै पनि औचित्य नभएको पनि बताएका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा मुख्यमन्त्रीले कुनै पनि कानूनी तथा संवैधानिक कदम चाल्न नसक्ने दावी गर्दै मन्त्री आङ्बोले भनेका छन्, ‘उहाँको निलम्बनको औचित्य छैन । उहाँले कानूनी र संवैधानिक रुपमा आफ्नो वैद्यता गुमाइसक्नुभएको छ ।’

मुख्यमन्त्री राईको सांसद निलम्बनको कदमलाई मन्त्री आङ्बोले ‘राजनीतिक फण्डा’को संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘उहाँले राजनीतिक फण्डा मच्चाइरहनुभएको छ । यो षड्यन्त्रको उपज मात्रै हो । यसको राजनीतिक र कानूनी कुनै अर्थ हुँदैन । उहाँले सांसदहरुलाई धम्क्याउने काम मात्रै गरिरहनुभएको छ ।’

उसोभए ती १५ जना सांसद निलम्बनमा परेका होइनन् ? भन्ने जिज्ञासामा मन्त्री आङ्बोले भनेका छन्, ‘हामी यो मान्दैनौं । उहाँले राजनीतिक फण्डा र राजनीतिक प्रचारबाजीको लागि यो सब गर्नुभएको हो । यस्ता हर्कतहरुको जवाफ हामीले किन दिने? हामी मान्दैनौं यस्ता कुरा । उहाँको हर्कतहरु जवाफ दिनयोग्य नै छैनन् ।’

प्रतिक्रिया