मुख्यमन्त्री राईद्वारा १५ जना सांसद निलम्बित

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसदलाई निलम्बन गरेका छन् ।

मुख्यमन्त्री राईले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जना सांसदलाई बिहीबार निलम्बन गरेका हुन् । संसदीय गतिविधिमा संलग्न हुन नपाउने गरी दलको नेताको हैसियतमा निलम्बन गरेकाे एक नेताले जानकारी दिए ।

निलम्बनमा परेका सांसदहरुमा भीम प्रसाद आचार्य, राजेन्द्र राई, मोहनकुमार खड्का, लिलाबल्लभ अधिकारी, लछुमन तिवारी, कुलप्रसाद साम्बा, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास रहेका छन् । यस्तै यशोदा अधिकारी, धिरेन्द्र शर्मा, जीवन घिमिरे, कुसुम कुमारी श्रेष्ठ, टंक आङ्बुहांङ, साबित्राकुमारी रेग्मी र सरिता थापा समेत निलम्बनमा परेका छन् ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध गएकाे पुस १२ गते अविश्वासकाे प्रस्ताव दर्ता भएकाे थियाे । केपी शर्मा ओलीनिकट मुख्यमन्त्री राईविरुद्ध नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीले बाटो खोलिदिएको बताउँदै साे दिन बिहान साढे १० बजे ३७ जना सांसदहरुको हस्ताक्षरसहित प्रदेश सभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

यद्यपी मन्त्री आङ्बोलाई मुख्यमन्त्री राईले गएकाे पुस ११ मा नै बर्खास्त गरिसकेका थिए । मन्त्री आङ्बोले भने मुख्यमन्त्रीमाथि अविश्वासकाे प्रस्ताव राखिसकेपछि निलम्बन गर्ने अधिकार नहुने र यसकाे कुनै औचित्य नरहने बताए ।

‘संसदीय दलको नेताको रुपमा र प्रदेश सभामा मुख्यमन्त्रीको रुपमा तपाईँप्रति अविश्वास छ भनेर सम्पूर्ण संवैधानिक अधिकार प्रयोग गरेर अविश्वासको प्रस्ताव राखिसकेपछि संसदीय दलको नेतामा उहाँ स्वतः निलम्बित वा सो सरहको अवस्थामा रहनुहुन्छ,’ मकालु खबरसँग कुराकानीका क्रममा उनले भने, ‘यो अवस्थामा उहाँसँग कसैलाई स्पष्टिकरण सोध्ने या कसैलाई कारवाही गर्ने नैतिक र कानुनी दुवै अधिकार रहँदैन । यसकारण निलम्बनको औचित्य छैन ।

प्रतिक्रिया