स्वास्थ्य सतर्कता अपनाउन सांसदलाई राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाकाे अपिल

काठमाडाैं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन अपिल गरेका छन् ।
बुधबार अध्यक्ष तिमिल्सिनाले पुस १७ गते राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठक बस्ने र त्यसको निम्ति बिहीबार राष्ट्रिय सभा सदस्यको कोभिड १९ परीक्षणको व्यवस्था गरिएको जानकारी दिए । तर यो अवधिभर राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सर्तकता अपनाउन उनले आग्रह गरेका छन् ।
१७ गतेको बैठकको निम्ति संघीय संसद सचिवालयले स्वास्थ्य मापदण्ड पुरा गरी आवश्यक तयारी गरेको पनि अध्यक्ष तिमिल्सिनाले बताए । संसद भित्रको तयारीले मात्रै कोभिड संक्रमण रोक्न पर्याप्त नहुने भन्दै उनले सम्पूर्ण राष्ट्रिय सभा सदस्यहरुलाई बैठक अवधिभर बाहिरी गतिविधिमा जाँदा सावधानी अपनाउन आग्रह गरे ।
उनले भने, ‘अहिले हामी कोभिड–१९ कै महामारीका बीचमा छाैँ । तसर्थ स्वास्थ्य सावधानि अपनाउने कुरामा माननीयज्यूहरु जो जिल्लामा, क्षेत्रमा बाहिर जानुभएको छ उहाँहरु अलिक सर्तकता अपनाउने, क्वारेन्टाइनमा सम्म बस्ने पनि बिचार गरेर आइदिनुहाेला । भोलि उहाँहरुको स्वाव संकलन एवं स्वास्थ्य परीक्षण गर्ने व्यवस्था पनि मिलाएका छाैँ । सर्तकता अपनाउँ ।’








