मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

वैशाखबाट ओलीको पत्तासाफ हुन्छ : प्रचण्ड
सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैशाखबाट प्रधानमन्त्री केपी शर्मा ओलीको पत्तासाफ हुने बताएका छन् । मंगलबारको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओलीको पत्तासाफ निश्चित रहेको बताएका हुन् ।
यस्तै उनले मुलुकलाई दुर्घटना गराउने प्रधानमन्त्रीले चुनाव नगराउने दाबी समेत गरे । उनले भने, ‘केपी ओलीलाई यदि कसैले गोटी बनाएको छ भने, मलाई लाग्छ अब नेपालको राजनीतिक इतिहासबाटै उहाँको पत्तासाफ हुन्छ । वैशाखपछि उनी प्रधानमन्त्री पनि रहँदैनन् । श्री ३ महाराज हुन्छु भनेर सपना देखेर केही हुँदैन ।’
मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट
मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
प्रतिनिधि सभा विघटन गरि निर्वाचन घोषणा गरेको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने दाबीसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले दायर गरेको रिटमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइएको छ ।
उक्त निवेदनमा कामचलाउ सरकारले मन्त्रिपरिषदमा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गर्न नसकिने उल्लेख छ । अधिवक्ता त्रिपाठीले गएको पुस १० गते प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषदमा गरिएको नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन बदर गर्न समेत माग गरेका छन् ।
यसअघि लोकेन्द्र बलीसहितले रिट दायर गरेका थिए । सो रिटको बुधबार (भोलि) पेसी तोकिएको छ ।
मंगलबार थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि
देशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ । आज ९मंगलबार० थप ७०८ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमित संख्या त्यति पुगेको हो ।
यस्तै मंगलबार ७३१ जना निको भएर फर्किएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएसँगै मृतक संख्या १ हजार ८४० पुगेको छ । आज सक्रिय संक्रमित संख्या ६ हजार ३९६ रहेको छ भने क्वारेन्टिनमा ३६५ जना छन् ।
नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं : चीन
चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले नेपालका सबै राजनीतिक दलसँग चीनको मित्रवत सम्बन्ध रहेको बताउँदै आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएका हुन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको सन्देश बोकेर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उप-विदेशमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौंमा नेकपाका नेतासँग भेटवार्तामा व्यस्त रहेका बेला बेइजिङबाट यस्तो सन्देश आएको हो । चिनियाँ प्रतिनिधिमण्डलले नेकपाका नेतासँग संवाद गरेर पार्टी एकता कायम गर्न सुझाव दिइरहँदा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति प्रतिबद्ध रहेको जनाएको हो ।
काठमाडौंमा प्रचण्ड–नेपाल पक्षकाे विरोध र्याली
सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षले देशभर प्रदर्शन सुरू गरेको छ । संसद विघटनविरुद्ध मंगलबार देशभर विरोध प्रदर्शन सुरू गरिएको हो । प्रदर्शनमा पार्टीका शीर्ष नेताहरू माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतको उपस्तिथि रहेको छ ।
विभिन्न जिल्लामा हुने र्यालीलाई सम्बोधन गर्न केन्द्रीय नेताहरू जिल्ला-जिल्लामा पुगेका छन् । आज आयोजित प्रदर्शनमा काठमाडौंमा मात्रै पचास हजार कार्यकर्ता उतार्ने नेपाल-दाहाल पक्षको दाबी छ ।
आन्दोलनमा सहभागी उखु किसानले बक्यौता नै नपाइ गुमाए ज्यान
काठमाडौंको माइतीघर मण्डलामा भएको आन्दोलनमा सहभागी एक किसानको मृत्यु भएको छ । सर्लाही धनकौल छोटवल टोलका करिब ६०र६५ वर्षीय नारायण राय यादवको मंगलबार बिहान हृदयरोगबाट निधन भएको किसान संघर्ष समिति, सर्लाहीका अध्यक्ष राम स्वार्थ रायले जानकारी दिए ।
‘मंगलबार बिहान उहाँको मृत्यु भएको हो । म पनि त्यसतर्फ जाँदैछु । विस्तृतमा जानकारी लिन बाँकी छ’, अध्यक्ष राम स्वार्थले मकालु खबरसँग भने, ‘उहाँको परिवारलाई पनि खबर गरिएको छ । काठमाडौं आउँदै हुनुहुन्छ ।’
मृतक किसानको मात्रै २४ लाख ६३ हमार रुपैयाँ लिन बाँकी थियो । उनको बिहानीपख स्वास्थ्य खराब भएपछि अस्पताल पुर्याइएको थियो । मंसिर २८ देखिको किसान आन्दोलनमा सहभागी भएका उनको उपचारका क्रममा निधन भएको हो । उनी आन्दोलन अवधिभर चाबहिलको कृष्ण प्रणामी मन्दिरमा बसिरहेका थिए ।
‘ओलीले गफ हाँकेरै ३ वर्ष बिताए, अब केपी बा प्रवृत्ति समाप्त गर्छौँ’
सत्तारूढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले गफ हाँकेरै तीन वर्ष बिताएको टिप्पणी गरेका छन् । देश चलाउन सही भिजन नीति चाहिने उनको भनाइ छ ।
‘उहाँले पटक पटक सुझाव दिँदा पनि पार्टीलाई टेर्नु भएन । एकलौटी ढंगले क्याविनेट, प्लानिङ कमिसङ तथा पुँजीवादी नीति कार्यक्रम ल्याउनुभयो । पानीजहाज, घरघरमा चुलो पुर्याउने कुरा गर्नुभयो । ३ वर्ष उखान टुक्कामै खेर फाल्नुभयो,’ उनले भने।
यस्तै नेता खनालले ओलीले पार्टीलाई भर्याङजस्तै बनाएको नेता खनालले आरोप समेत लगाए । पोजिसनमा पुगेर पार्टी नीति बिर्सिएको उनको आरोप छ । ओलीकै असहयोगले ३ वर्ष बित्दा पनि एकीकरणको काम नसकिएको उनको भनाइ छ ।
यस्तै प्रचण्ड(नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओली गणतन्त्र विरोधी भएको बताएका छन् । ओलीमा कम्युनिस्टमा हुनुपर्ने गुण नभएको नेता नेपालले बताए । ओली सुध्रिएलान् कि भनेर अनुशासनको कारवाही नगरी आफ्नो समूहले अन्तिम मौका दिएको उनको तर्क छ । ओलीले पदको ललिपप बाड्दै हिँडेको आरोप समेत उनले लगाउन भ्याए ।
विरोध सभामा उनले भने, ‘उहाँले नियुक्ति दिन्छु, टिकट दिन्छु भनेर लोभ लालच बाँड्दै हिँड्नु भएको छ । वामदेव गौतम, प्रचण्ड र मलाई छुट्टाछुट्टै बोलाएर फकाउने गर्नुहुन्थ्यो । अब केपी वंश र प्रवृत्तिबाट मुक्ति पाउने बेला भएको छ । हामीले उहाँलाई सुध्रनका लागि एक मौका दिएका छौँ । यसपछि पनि उहाँमा सुधार आएन भने हामी केपी बा प्रवृत्ति समाप्त गर्छौँ ।’
इन्द्रबहादुर आङ्बो भन्छन्–‘हामीलाई स्पष्टीकरण सोध्ने नैतिक र कानूनी आधार छैन’
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध गत १२ पुषमा अविश्वासको प्रस्ताव दर्ता भयो । प्रधानमन्त्री तथा एकीकृत नेकपा पहिलो वरीयता अध्यक्ष केपी शर्मा ओलीनिकट मुख्यमन्त्री राईविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएपछि अहिले खासगरी प्रदेश नं. १ नेकपा वृत्त रन्किरहेको छ ।
केन्द्रमा देखिएको समस्याको ‘साइड् इफेक्ट्’ अहिले लगभग नेकपाले नेतृत्व गरेको ६ वटै प्रदेशमा देखिन थालेको छ । यसको पछिल्लो एउटा उदाहरणको रुपमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले त्यहाँका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेको घटनालाई लिन सकिन्छ ।
मुख्यमन्त्री राईले आफ्नो आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई गत ११ पुषमा बर्खास्त गरे । तत्पश्चात् दलभित्रै अल्पमतमा परेका मुख्यमन्त्री राईकै निर्देशनमा नेकपाका ओली निकटकै प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आङ्बोसहितको टोलीलाई २४ घण्टे स्पष्टीकरण सोधे । तर, यता स्वयम् आङ्बो भने आफूहरुले कुनै पनि हालतमा स्पष्टीकरण नदिने अडान राख्छन् । २४ घण्टे स्पष्टीकरणबारे मकालु खबरले राखेको जिज्ञासामा निवर्तमान मन्त्री आङ्बोले भनेका छन्, ‘उहाँहरुसँग अब स्पष्टीकरण सोध्ने नैतिक तथा कानूनी आधार नै छैन । उहाँहरुले कसरी सोधिरहनुभएको छ, मैले बुझेको छैन । हामी स्पष्टीकरण नै दिँदैनौं ।’
ओलीको शासन ढल्छ : अष्टलक्ष्मी शाक्य
सत्तारूढ नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीको शासन पनि ढल्ने बताएका छिन् । काठमाडौंको प्रदर्शनी मार्गमा भइरहेको विरोध सभालाई सम्बोधन गर्दै दाहाल(नेपाल पक्षकी नेतृ शाक्यले यस्तो बताएकी हुन् ।
उनले भनेकी छिन् – ‘प्रधानमन्त्री ओलीले संविधान माथि कू गरेर जनताको अधिकार खोस्नु भएको छ । अब उहाँको शासन पनि ढल्छ । हामी राजाविरुद्ध सडकमा ओर्लिएका थियौँ । अहिले ओलीविरुद्ध सडकमा छौं । जनताको शक्तिको अघि कस्ता कस्ता तानाशाह त ढले भने ओली कसरी रहन्छन् ?’
कोरोनाको खोपः ‘स्पुट्नीक भी’ प्रयोग गर्ने दोस्रो देश बन्यो बेलारुस
रसियामा निर्मित कोरोनाभाइरस विरुद्धको खोप स्पुटनीक भी प्रयोग गर्ने देशमा बेलारुस दोस्रो बनेको छ ।
यसअघि रुसले यसको प्रयोग गरेको थियो । यो खोपको विकास पनि रुसमा नै एक सरकारी निकायले गरेको थियो ।
स्पुटनीक भी खोप उत्पादन गर्ने निकायको आधिकारिक सामाजिक सञ्जालमा लेखिएको छ, ‘यो खोप प्रयोग गर्ने देशहरुको सूचीमा बेलारुस दोस्रो भएको छ, बेलारुसमा आम नागरिकलाई पनि यो खोप लगाउन थालिएको छ ।’
सो निकायले आफ्नो खोप विश्वसनीय र प्रभावकारी भएको, तर शरीरमा कुनै प्रतिकूल प्रभाव नपर्ने दाबी पनि गरेको छ ।
बेलारुसमा सोमबार एक दिन मात्रै एक हजार ८१४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने अहिलेसम्म एक लाख ८८ हजार ५८८ जना सङ्क्रमित भएका छन् ।








