विश्वमा कोरोना जित्नेको संख्या ५ करोड ५६ लाख नाघ्‍यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ५ करोड ५६ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५ करोड ५६ लाख ४५ हजार २५८ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १७ लाख ३७ हजार ५१८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ७ करोड ९० लाख ५१ हजार ४३२ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म ३ लाख ३४ हजार २१८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड ८९ लाख १७ हजार १५२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ३२ हजार ३४२ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ३ हजार ४०१ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४६ हजार ७७८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३०२ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा २४ हजार २३६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ करोड १ लाख २३ हजार ५४४ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ७३ लाख ६६ हजार ६७७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९७९ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ८९ हजार २६४ पुगेको छ ।

विश्वभरको कोरोना अपडेट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :- कोरोना अपडेट
प्रतिक्रिया