राप्तिको नगर सभा: ४ वटा कार्यविधि पारित

चितवन । चितवनको राप्ती नगरपालिकाको आठौँ नगर सभा बुधबार सम्पन्न भएको छ । नगर सभाले विभिन्न ४ वटा कार्यविधि तथा विभिन्न प्रस्तावहरु पारित गरेको छ ।
नगर प्रमुख प्रभा बरालको अध्यक्षतामा भएको सभाले नगर खेलकुद संचालन सम्बन्धि कार्यविधि, सरसफाइ र अर्गानिक मल उत्पादन तथा ब्यबस्थापन सम्बन्धी कार्यविधि, मेलमिलाप कार्य संचालन सम्बन्धि कार्यविधि र आर्थिक सहायता सम्बन्धि कार्यविधि पारित गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर भुजेलले जानकारी दिए । त्यस्तै केही ऎन संशोधन समेत गरिएको छ ।
भुजेलका अनुसार शिक्षा ऎन २०७४, सहकारी ऎन २०७४, कार्यविधिमा भएको शब्दावली, करारका कर्मचारी व्यवस्थापन गर्ने कार्यविधि २०७४ संशोधन गरिएको हो ।
विधायन मस्यौदा समितिले तयार पारेको कार्यविधि नगर प्रमुखबाट नगर सभामा पेश भएको थियो । विधायन मस्यौदा समिति संयोजक सुमिता डल्लाकोटिका अनुसार स्थानीय तह लागू भए देखि हाल सम्म राप्ती नगरपालिकाले कार्यविधि, ऎन र नियमावली गरि ३४ वटा निर्माण गरिसकेको छ । बैठकले बार्सिक बजेट रक्म थप,संशोधित योजनाको रकम भुक्तानी ,राजस्व परामर्श समितिको सुझाव अनुसार राजस्वको दर परिमार्जन , विपद व्यवस्थापनमा बजेट व्यवस्थापन, नगरका योजना अन्तर्गत सडक ढलान कार्य उपभोक्ता समितिद्वारा गर्ने, नदिजन्य पदार्थको व्यवस्थापन सम्बन्धी प्रस्ताव पनि पारित गरेको छ ।
नगर सभामा आफ्नो धारणा राख्दै नगर उपप्रमुख इमानसिंह लामाले गत वर्ष कोरोनाले गर्दा धेरै योजना सम्पन्न हुन नसकेको भन्दै चालू आर्थिक वर्षमा भने समयमै योजना सम्पन्न हुने गरी काम अगाडि बढाउनु पर्ने बताए ।








