नेकपाले जनमतकाे अपमान गर्याे : पुष्पा भुषाल

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा संसदीय दलकी सचेतक पुष्पा भुषालले सत्तारुढ नेकपाले जनमतलाई अपमान गरेको गम्भीर आरोप लगाएकी छिन् ।

बुधबार एक कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएकी हुन् । उनले जनताले लामो समयको संघर्ष र आन्दोलनबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रपछि नेकपालाई दुई तिहाइको जनमत दिएको भएपनि उसले जनमतको यथोचित कदर नगरेको समेत जिकिर गरिन् । उनले मुलुकलाई समृद्धि र विकासमार्फत अघि बढाउने अभिभार नेकपासँग भएको भएपनि उनले संविधानको भावनाअनुसार काम नगरेको बरु उल्टै जनमतको घोर अपमान गरेको बताइन् ।

उनले नेपालको संविधानले स्थिर सरकार र स्थिर संसद चलाउने परिकल्पना गरेको उल्लेख गरिन् । तर, वर्तमान सरकारले संसद नै विघटन गरेर त्यो भावनामाथि नै कुल्चिने काम गरेको उनको गुनासो छ । वर्तमान प्रधानमन्त्री ओलीले पाँच वर्षभित्र देशलाई विकास र सुशासन दिन्छु भनेर सार्वजनिक रुपमै प्रतिबद्धता जनाएपनि सो घोषणाअनुसार काम भने नभएको पनि उनको आरोप छ ।

‘उहाँले पानीजहाज पनि ल्याउँछु भन्नुभयो, भ्रष्टाचार शून्य सहनसिलता दिन्छु भनेर वचन दिनुभयो । तर, अहिले संसद नै समाप्त गर्नुभयो । संविधानले चलाउने हो नि देश । संसद विघटन प्रधानमन्त्रीको विशेषाधिकार होइन । अहिलेको संविधानमा संसद विघटन गर्न कुनै धारा छैन’, उनले भनिन् ।

उनले संसद भनेको जनताको ऐना भएको उल्लेख गर्दै आफ्नो गुटको लागि विघटन गर्नु गलत भएको तर्क गरिन् । उनले प्रधानमन्त्री ओलीले पार्टी र कानुनको धज्जी उडाएको पनि आरोप समेत लगाइन् ।

प्रतिक्रिया