‘आदर्श विशेष सम्मान’ गायक प्रकाश सपुतलाई

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ । सहकारीको १४ औं वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो ।

सपुतलाई नगद २५ हजार राशिसहित सम्मान गरिने सहकारीले जनाएको छ । जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक सुपतलाई लोक सङ्गीतको उत्थानमा पुर्‍याएको योगदान बापत सम्मान गर्न लागिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ ले बताइन् । गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘फुटेका चुरा’, ‘दोहोरी ब्याटल’ लगायतका गीत लोकप्रिय छन् ।

उनी चलचित्र परदेशी-२ मा नायकको समेत भूमिकामा देखिँदै छन् । सो चलचित्रको अहिले छायाङ्कन भइरहेको छ । उक्त सम्मान छिट्टै विशेष समारोहबीच गायक सपुतलाई समर्पण गरिने सहकारीका अध्यक्ष जिसीले बताइन् । ‘आदर्श विशेष सम्मान’ यसअघि राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केवी उप्रेती र गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय सहकारी महासङ्घका पूर्व सञ्चालक प्रभा कोइरालाई प्रदान गरिएको थियो । –रासस

प्रतिक्रिया