मणि राम गेलाल सचिवमा बढुवा, छेन्दु महावाणिज्यदूतमा दिनेश घिमिरे

काठमाडौँ । सरकारले सहसचिव मणि राम गेलाललाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका इन्जिनियर गेलाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको बैठकमा सहभागि एक मन्त्रीले मकालुखबरलाई बताए ।
लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सचिवत्रय मणि राम गेलाल, प्रमिला देवी शाक्य बज्राचार्य र सुशील बाबु तिवारीको नाम सिफारिस गरेको थियो । गेलाल सहरी विकास तथा भवन निर्माण विभागमा महानिर्देशकका रूपमा कार्यरत थिए ।
यस्तै बैठकले छेन्दु महावाणिज्यदूतमा सहसचिव दिनेश कुमार घिमिरेलाई पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव घिमिरेलाई चीनको सिचुवान प्रान्तको छेन्दु सहरमा अवस्थित नेपालको महावाणिज्य दूतावासमा पठाउने निर्णय गरेको हो ।
केही दिन अघि मात्रै उनको परराष्ट्र मन्त्रालयमा सरुवा भएको थियो ।








