बार्सिलोनामाथि युभेन्टसको शानदार जित : रोनाल्डोले गरे दुई गोल

काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत युभेन्टसले बार्सिलोनालाई पराजित गरेको छ । गएराती बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले बार्सिलोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । रोनाल्डोले दुवै गोल पेनाल्टीबाट गरेका थिए । रोनाल्डोले खेलको १३औ र ५२औ मिनेटमा युभेन्टसले पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । त्यस्तै युभेन्टसका लागि अर्को गोल खेलको २०औ मिनेटमा वेस्टन म्याकेनीले गरेका थिए ।

युभेन्ट्सको खेलाडीको रुपमा बार्सिलोनाविरुद्ध पहिलो खेल खेलेका रोनाल्डोले च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध पेनाल्टीमा दुई गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यस अघि यसै सिजनको च्याम्पियन्स लिगको पहिलो खेलमा बार्सिलोनाले युभेन्टसलाई २-० ले पराजित गरेको थियो ।

योसँगै युभेन्टस समुह जी मा समुहमा १५ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै बार्सिलोना पनि १५ अंकसँगै दोस्रो स्थानमा रहेको छ । दुवै क्लब अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । च्याम्पियन्स लिगमा बार्सिलोना २००६-०७ सिजनपछि पहिलो पटक समुहमा दोस्रो हुदै अन्तिम १६ मा पुगेको हो ।

प्रतिक्रिया