मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सर्वदलीय बैठक डाकेका छन् । बैठक भोलिको बिहान ११ बजेका लागि डाकिएको उनको सचिवालयले जनाएको छ ।
उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार ओलीले समसामयिक विषयमा छलफल गर्न बैठक डाकेका हुन् ।
नेपालमा पछिल्लो समय राजावादी आन्दोलन चर्किरहेको छ । बैठकमा यीनैलगायतका विषयमा कुराकानी गरिने बुझिएको छ ।
यसभन्दा अगाडि नेपालको भूमि मिचेर भारतले तिब्बतको मानसरोबरसम्म सडक निर्माण गरेपछि गत ३१ वैशाखमा प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेका थिए ।
कोरोना अपडेट : कोरोनाका कारण मृत्युु हुनेको संख्या १६ सय नाघ्यो

नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या १६ सघ नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारीअनुसार थप २० संक्रमितको मृत्यु भएसँगै नेपालमा कूल मृतकको संख्या १६ सय १४ पुगेको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार १४ जना कोरोना संक्रमित फेला परेका छन् । योसँगै संक्रमितको कूल संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ ।
हालसम्म नेपालमा १७ लाख ९० हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालको हालको सक्रिय संक्रमितको संख्या १२ हजार ९ सय ४८ हो भने हाल ५ सय २७ जना क्वारेन्टाइनमा रहेका छन् ।
ईयूले नेपाली हवाई उड्डयनलाई कालो सूचीबाट हटाउने संकेत दिनु स्वागतयोग्य ः पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियनले नेपालको हवाई उड्डयनलाई कालो सूचीबाट हटाउने संकेत दिएको भन्दै खुशी व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले युरोपियन युनियनले जारी गरेको स्टेटमेन्ट स्वागतयोग्य भएको बताएका हुन् ।
पछिल्लो समय नेपालले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक पुनरसंरचना गर्नका लागि ड्राफ्ट तयार गरी संघीय संसदमा छलफल भइरहेको छ । संसदबाट ऐन पारित भएपछि युरोपियन युनियनले उठाएका अधिकांश चासो सम्बोधन हुने पनि मन्त्री भट्टराईले स्पष्ट पारे ।
ईयूले सन २०१३ को डिसेम्बर देखि नेपालको हवाई उड्यनलाई कालो सूचीमा राखेको थियो ।
हिन्दुराष्ट्र र राजसंस्थाको संवाहक राप्रपा स् कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् ।
सोमबार पार्टी कार्यालयमा भएको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहमा उनले स्वःस्फूर्तरुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताए ।
उनले राजसंस्था र हिन्दुराष्ट्र पक्षधरलाई राप्रपाको नेतृत्वमा गोलबद्ध हुन पनि आग्रह गरे । राजसंस्था र हिन्दु राष्ट्र राजनीतिक स्वार्थ नभएर देशको अस्तित्व, पहिचान र सार्वभौमिकतासँग जोडिएको विषय भएको दाबी पनि गरे ।
बलात्कार मुद्दामा सिद्धबाबाले पाए सफाइ

बलात्कारसम्बन्धी मुद्दामा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले सफाइ पाएका छन् ।
सोमबार जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाइ दिएको हो ।
अदालतका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले सोबारे पुष्टि गरेका हुन् । सरकारी वकिलले पेशी सार्न दिएको निवेदनको बेवास्ता गर्दै सोमबार नै सिद्धबाबाको मुद्धामा सुनुवाइ गरिएको थियो ।
एक अनुयायीले आफूलाई सिद्धबाबाले बलात्कार गरेको भनी जाहेरी दिएपछि सिद्धबाबा अनुसन्धानमा तानिएका थिए ।
रौतहट बमकाण्ड : अफताब आलमका भाइ भारतबाट पक्राउ
रौतहट बमकाण्डका मुख्य अभियुक्त पूर्वमन्त्री एवम् प्रतिनिधि सभाका निलम्बित सांसद मोहम्मद अफताब आलमका भाइ महताब आलम पक्राउ परेका छन् ।
२०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बमकाण्डमा करिब एक दर्जन व्यक्तिको ज्यान गएको थियो । घटनाका मुख्य अभियुक्त आफ्ताब यसअघि नै पक्राउ परिसकेका छन् । उनी अहिले डिल्लीबजार जेलमा रहेका छन् ।
उनी पक्राउ परेको एक वर्षपछि उनका भाइ पक्राउ परेका हुन् ।
दार्चुलामा ट्रक दुर्घटनाः तीन जनाको घटनास्थलमै मृत्यु
महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर-दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । मृतक अन्य दुईको पहिचान हुन सकेको छैन । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो ।
गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलङ्गातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक गए राति सवा १० बजे दुर्घटनामा परेको हो । ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको छ । ट्रकमा सवार तीनै जनाको मृत्यु भएकाले दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतकहरूको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
बजार पूँजीकरण २७ खर्ब
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार उकालो लाग्दा बजार पूँजीकरण झण्डै रु २७ खर्ब बराबरको भएको छ । शेयर बजारमा बजार पूँजीकरणको ठूलो महत्व रहन्छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको कारोबार पछि कूल बजार पूँजीकरण रु २६ खर्ब ८६ अर्ब ६१ करोड ८० लाख बराबर पुगेको छ । नेपाल दूरसञ्चार कम्पनी र नेपाल पुनर्बीमा कम्पनी बजार पूँजीकरणका आधारमा अगाडि रहेका छन् । दूरसञ्चार कम्पनीको रु एक खर्ब ८२ अर्ब ५० करोड बराबरको बजार पूँजीकरण पुगेको छ ।
यस्तै नेपाल पुनर्बीमा कम्पनीको रु एक खर्ब ६३ अर्ब बराबरको बजार पूँजीकरण पुगेको छ । कारोबार मापक नेप्से आज ७२.२८ विन्दुले उकालो लागेर पुनः दुई हजार विन्दुमाथि पुगेको छ । आजको वृद्धि पछि नेप्से २००४.३९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.१० विन्दुले उकालो लागेर ३८२.७७ मा पुगेको छ । कूल २०६ कम्पनीको एक करोड १९ लाख २० हजार ८१९ कित्ता शेयर रु ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ मूल्यमा खरिद बिक्री भए ।
स्टकका अनुसार आज कारोबार भएका १२ वटै उपसमूहको शेयर उकालो लागेको छ ।
आर्सनललाई हराउँदै टोटेनहम शीर्षस्थानमा
काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले आर्सनललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामले आर्सनललाई २(० गोल अन्तरले पराजित गरेको हो ।
टोटनह्यामको जितमा सन हेंग मिन र ह्यारी केनले एक एक गोल गरेका थिए ।
योजितपछि टोटनह्याम प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । टोटनह्यामको ११ खेलपछि २४ अंक रहेको छ । त्यस्तै आर्सनलको भने ११ खेलमा १३ अंक रहेको छ र लिगमा १५औ स्थानमा रहेको छ ।
भेनेजुयलामा मदुरो थप शक्तिशाली बन्दै प्रतिपक्षिद्वारा निर्वाचन बहिस्कार
भेनेजुयलामा आइतबार सम्पन्न निर्वाचनमा अमेरिकाको समर्थन रहेका हुवान हुआइदोको प्रतिपक्षी दलले निर्वाचन बहिस्कार गरेपछि राष्ट्रपति निकोलस मदुरोलाई वैधानिकरूपमा थप बलियो बनाएको छ ।
व्यवस्थापिका संसदको २२७ सीट रहेको ‘नेशनल एसेम्ली’ मा यस पहिलेको निर्वाचनबाट राष्ट्रपति मदुरो कमजोर अवस्थामा रहेपनि विपक्षी दलले बहिस्कार गरेको यो निर्वाचनबाट भने मदुरोलाई वैधानिक बल मिल्नसक्ने देखिएको छ ।








