‘द भ्वाइस अफ नेपाल’ को डिजिटल अडिसनमा कसरी सहभागी हुने ?

काठमाडौं । रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो सिजनको अडिसन सुरु भएको छ । हिमालयन टेलिभिजनबाट प्रशारित ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो सिजनको अडिसन सुरु भएको हो । हिजो शनिबार बाट ‘द भ्वाइस अफ नेपाल’ को डिजिटल अडिसन सुरु भएको कार्यक्रम उत्पादक हिमालयन टेलिभिजनले जनाएको छ ।

१६ देखि ४५ वर्ष उमेर समुहका युवा युवतिहरुले गायन विधामा प्रतिष्पर्धा गर्न सकिने यो रियालिटी शो मा सहभागीले यसपटक डिजिटल अडिसन मार्फत भाग लिन सक्नेछन् । रियालिटी शोमा भाग लिन चाहने प्रतिवाभान युवायुवतीहरुले आफ्नो गीतको भिडियो रेकर्ड पठाएर आवेदन दिन सक्ने व्यवस्था छ ।

‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलका अनुसार यसपटक डिजिटल अडिसनमा सहभागी हुन ‘दि भ्वाइस अफ नेपाल’को अफिसियल एप डाउनलोड गरी फारम भर्नुपर्छ । आवेदकले फारम भरेपछि मोबाइलमार्फत् नै गीत रेकर्ड गरी पठाउनुपर्ने छ । उक्त रेकर्ड पठाएपछि अडिसनमा सहभागीताको प्रमाणस्वरुप आबेदनकर्ताले कोड प्राप्त गर्नेछन् ।

‘द भ्वाइस अफ नेपाल’ले मोबाइल एपमार्फत् अडिसन दिन असमर्थ भएको खण्डमा बिभिन्न सामाजिक सञ्जालमा रहेका ‘दि भ्वाइस अफ नेपाल’का पेजमार्फत् पनि अडिसनमा सहभागी हुन सक्ने व्यवस्था गरेको छ । ‘प्रयोगकर्ताले फेसबुकमा रहेको ‘दि भ्वाइस अफ नेपाल’को पेजमा गई म्यासेन्जरमा समेत भिडियो पठाउन सक्नेछन् ।’ कार्यक्रम निर्देशक पौडेलले भने ।

यसका अलावा कुनैपनि डिजिटल माध्यममा पहुँच नहुने प्रतिभाहरु पनि अडिसनबाट बञ्चित हुनुपर्ने छैन । इन्टरनेटको पहुँच नभएका प्रयोगकर्ताले ‘दि भ्वाइस अफ नेपाल’को उत्पादन टीमको फोन नम्बर ९८४१–५३४४२८ मा फोन गरेर अडिसनका लागि समन्वय गर्न सक्छन् ।



आवेदकहरुले सोही नम्बरको भाइवर वा ह्वाट्सएपमा पनि भिडियो रेकर्ड गरी पठाएर अडिसनमा सहभागी हुन सक्ने भनिएको छ ।
डिजिटल अडिसनमार्फत् सहभागी भएका प्रतिभाहरुको क्षमता परीक्षणपछि १ सय जना प्रतिभाहरुलाई ब्लाइन्ड अडिसनमा सहभागी गराइने छ । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको अगाडिका राउण्डमा पुग्नेछन् ।

‘द भ्वाइस अफ नेपाल’ को पहिलो सिजनको विजेता सिडी विजय अधिकारी भएका थिए, दोस्रो सिजनको विजेता राम लिम्बु भएका थिए । ‘द भ्वाइस अफ नेपाल’का विजेता, उपविजेताले नगद पुरस्कार, म्युजिक भिडियो लगायत विभिन्न उपहार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया