‘अब नेपालमा गाँजा खेती गर्न अन्तर्राष्ट्रिय कानूनले छेक्दैन, चाँडै कानूनी मान्यता दिन्छौँ’

काठमाडौं । तीन वर्ष अगाडि संयुक्त राष्ट्रसंघलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गाँजालाई लागू औषधको सूचीबाट हटाएर औषधीय गुण भएको वनस्पतीको सूचीमा सूचीकृत गर्न आग्रह गरेको थियो । जसअनुसार संघले भर्खरै मात्रै गाँजालाई औषधीय गुण भएको वनस्पतीको सूचीमा राखेको छ ।

त्यसो त यता नेपालमा पनि जाँगालाई कानूनी मान्यता दिनुपर्ने बहस पहिल्यैदेखि नै उठ्दै आएको हो । खासगरी पूर्वकानूनमन्त्री तथा सांसद शेरबहादुर तामाङले गाँजालाई कानूनी मान्यता दिएर स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने बताउँदै गत १९ फागुनमा संसद सचिवालयमा आफैँले तयार पारेको मस्यौदा दर्ता गराएका छन् ।

‘गाँजाको उपयोग औषधि निर्माण तथा यसको बोक्राको रेसाबाट कपडालगायतका सामग्रीको उत्पादन गर्न सकिने र डाँठको फर्निचर बोर्ड तथा इँटासमेतका लागि उपयोगी हुन सक्ने गुण रहेको छ ।’ त्यतिबेलै यसो भनेका सांसद तामाङ अहिलेको राष्ट्रसंघका निर्णयसँग खुशी छन्, भन्छन्–‘नेपालमा पनि गाँजा खेतीको बाटो खुल्यो ।’

‘राष्ट्रसंघको यो निर्णयले नेपाललाई सघाउँछ’
‘संयुक्त राष्ट्रसंघको उक्त निर्णयको प्रभाव नेपालमा कस्तो पर्छ ?’ भन्ने प्रश्नमा उनै सांसद तामाङको जवाफ छ, ‘नेपालमा यसको प्रभाव एकदमै सकारात्मक पर्छ । राष्ट्रसंघको यो निर्णयले नेपाललाई पनि सघाएको छ । नेपालमा पनि यससम्बन्धी बहस चल्दै नै आएको हो । अब नेपालमा पनि चाँडै कानूनी मान्यता दिन्छौँ ।’

कानूनी मान्यताकै लागि नेपालले पनि यसको पक्षमा मतदान गरेको बताएका सांसद तामाङले थप बोल्छन्, ‘नेपालमा पनि छिट्टै कानूनी मान्यता प्रदान गर्नुपर्छ । र हुन्छ पनि, त्यसैले त नेपाले पनि यसको पक्षमा नै मतदान गरेको हो ।’

‘अन्तर्राष्ट्रिय कानूनले छेक्दैन’
संयुक्त राष्ट्रसंघको उक्त फुकुवासँगै नेपालमा पनि गाँजा खेती गर्न रोकतोक नहुने तर्क सांसद तामाङको छ । मकालु खबरसँगको संक्षिप्त कुराकानीको क्रममा सांसद तामाङले भनेका छन्, ‘अब नेपालमा पनि गाँजा खेती गर्न सकिने हुन्छ । अन्तर्राष्ट्रिय कानूनले पो छेक्छ कि भनेर चाहिँ डराउनुपर्दैन । अब नेपालमा पनि यसको प्रोसेस चाँडै शुरु हुन्छ ।’

संयुक्त राष्ट्रसंघको कमिशन अन नार्कोटिक ड्रगको सचिवालयमा रहेका ५३ सदस्य राष्ट्रमध्ये २७ राष्ट्रले प्रस्तावको पक्षमा मतदान गरेका बताएका सांसद तामाङको थप आह्वान छ, ‘ अब हाम्रो अभियान संसदमा दर्ता भएको कानूनलाई पास गराउन सबै पक्षलाई आह्वान गर्दछु । संयुक्त राष्ट्रसंघले नै अब गाँजा औषधीय गुण भएको वनस्पति र यसबाट मानव जीवनलाई हानी हुँदैन भनिसकेपछि अब यसको प्रतिबन्ध फुकाउन हामीलाई अवसर प्राप्त भएको छ । यो अवसरको उपयोग गर्दै अब छिटोभन्दा छिटो कानून पास गरेर गाँजा प्रतिबन्ध फुकुवा गरौं ।’

नेपालमा कानूनी मान्यता कहिले ?
‘त्यसो तभए अब नेपालमा गाँजाले कानूनी मान्यता कहिले पाउला ?’ भनी मकालु खबरले राखेको जिज्ञासामा सांसद तामाङ भन्छन्, ‘जतिसक्दो चाँडै, अब हिउँदे अधिवेशनबाट हामीले यसलाई एकाग्र रुपमा उठाउनेछौं ।नेपालमा जतिसक्दो चाँडो गाँजा खेतीलाई मान्यता दिन सकियो, उतिकै फाइदा पुग्छ ।’

शुरुदेखि नै गाँजा खेतीलाई कानूनी मान्यता दिइएको खण्डमा विदेशिनुपर्ने बाध्यता हट्ने दावी गर्दै आएका सांसद तामाङले हिउँदे अधिवेशन शुरु भएसँगै यसको कानूनी प्रक्रियाबारे पाइला चालिने बताउँछन् । ‘सम्भवतः हामीले यही हिउँदे अधिवेशन शुरु भएपछि यसको कानूनी प्रक्रिया अगाडि बढाउँछौं र टुङ्ग्याउँछौं पनि । हामी ढिलो गर्दैनौं ।’ सांसद तामाङको भनाइ छ ।

नियमण र व्यवस्थापन
गाँजा खेतीलाई कानूनी मान्यता दिइएको खण्डमा यसको नियमण र व्यवस्थापन सजिलै गर्न सकिने बताउँछन् सांसद तामाङ । ‘यसको नियमण र व्यवस्थापनको कुरा जहाँसम्म छ, यसलाई गर्न सकिन्छ । तर, पहिले यसलाई मान्यता नै दिनुपर्छ, ’उनको तर्क छ ।

कानूनी मान्यता दिइएपछि यसबारे नियमावली तथा निर्देशिकाहरु बनाउनुपर्ने र त्यसलाई कडाइका साथ लागू गरे यसप्रति लापरवाही नबढ्ने विश्वास सांसद तामाङको छ । ‘कतिपयलाई लत नै लाग्ने हुन्छ । तर, त्यस्ता क्रियाकलापहरुलाई पनि निश्चित कानून बनाएर नियमण गर्न सकिन्छ । निश्चित जरिवानाको पनि व्यवस्था गर्न सकिन्छ । यसको प्रयोगको मापदण्ड नै बनाउनुपर्छ ।’ सांसद तामाङको भनाइ छ ।

गाँजालाई व्यवस्थान र बिक्री गर्न एउटा बोर्ड गठन गर्नुपर्ने र विद्यालय लगायतका क्षेत्रभन्दा १ किलोमिटर टाढा मात्रै यो खेती गर्न दिनेलगायतका व्यवस्था गर्नुपर्ने बताउँदै आएका सांसद तामाङले थप मापदण्डहरु निर्माण हुनुपर्ने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया