‘प्रतिनिधिमण्डल स्तरको वार्ता सेना प्रमुखसँग ? यो कस्तो कूटनीति हो’ रावल

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेई फेङहेको नेपाल भ्रमणका क्रममा प्रतिनिधिमण्डल स्तरमा भएको वार्ताबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद भीम रावलले प्रश्न उठाएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा सांसद नेता रावलले प्रतिनिधिमण्डल स्तरको वार्ता मन्त्रीस्तरमा हुनुपर्ने बताउँदै नेपालको कुटनीति नै प्रष्ट नभएको बताएका हुन् ।

‘विमानस्थलमा लिन र छोड्न मन्त्रीजी गएको देखिन्छ । अनि प्रतिनिधिमण्डल स्तरको वार्ता सेना प्रमुखसँग ? यो कस्तो कूटनीति हो मैले बुझिनँ ।’ उनको प्रश्न छ ।

रावलले बर्तमान सरकारले अपनाएको कुटनीतिले लाजमर्दो भएको बताउँदै भनेका छन्–‘एउटा मन्त्रीको प्रधानसेनापतिसँग डेलिगेशनस्तरमा वार्ता हुने चलन नयाँ सुनेँ । यो कस्तो कूटनीति हामीले आरम्भ गर्न खोजेको हो मैले बुझिनँ ।’

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नै चिनियाँ रक्षामन्त्री वेईलाई स्वागत गर्न विमानस्थलमा पुगेपनि भ्रमणका क्रममा प्रतिनिधिमण्डलस्तरमा सेना प्रमुखसँग वार्ता भएको सरकारले बताएको छ । उनी पनि जङ्गी अड्डा पुगेका थिए ।

चिनियाँ रक्षामन्त्रीको भ्रमणका क्रममा भएका भेटवार्ताहरुमा बीआरआईको प्रशंगमा वार्ता भएको विषय वक्तव्यमा नआएको भन्दै सांसद रावलले असन्तुष्टि पनि जनाएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय ‘रअ’ प्रमुखसँग प्रधानमन्त्रीको भेटलाई लिएर समेत प्रश्न उठाएका छन् । साथै भारतीय विदेश सचिवको नेपाल भ्रमणका क्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेकका विषयमा वार्ता भएको ठोस रुपमा नआएको भन्दै उनले असन्तुष्ठि प्रकट गरेका छन् ।

प्रतिक्रिया