विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुको खुल्ला तथा ह्वीलचियर दौड सम्पन्न

विराटनगर । विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुको खुल्ला तथा ह्वीलचियर दौड सम्पन्न भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको २९औं अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रम (दौड) विराटनगर महानगरपालिका, करुणा फाउन्डेसन नेपाल र राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

‘कोभिड १९ पश्चात्को उत्कृष्ट पुनरागमणको सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको हामी सबैको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ मनाइएको दिवसमा सम्पन्न दौडअन्तर्गत ह्वीलचियरतर्फ विश्वध झा र हेमराज पराजुली प्रथम र द्धितीय भएका छन् भने उनीहरुले क्रमसः ३ हजार २ हजार नगद प्राप्त गरेका छन् ।

|दौडमा सहभागीहरु। तस्वीरः सुजता लिम्बू, मकालु खबर|

यसैगरी ट्राइसाइकलतर्फ रामकुमार सहनी प्रथम र सोनु दास द्धितीय हुन सफल भएका छन् । उनीहरुले पनि क्रमसः ३ र २ हजार नै प्राप्त गरेका छन् । यसैगरी कान नसुन्ने प्रतियोगीमध्ये राम कायत प्रथम र बासुदेव द्धितीय भएका छन् । उनीहरुले पनि उही अनुपातको नगद पुरस्कार प्राप्त गरेका छन् भने यता महिलातर्फ कविता पौडेल र चुनिया साह क्रमसः प्रथम र द्धितीय भएसँगै ३ र२ हजार नै प्राप्त गरेका छन् ।

दौडपछि कार्यक्रमलाई सम्बोधन गरेका महानगरका मेयर भीम पराजुलीले अपाङ्गता भएका व्यक्तिहरुको रक्षाको लागि तीनै तहको सरकार लागिपरेको बताए । दौडमा सहभागीहरुले अपाङ्गता भएका व्यक्तिहरु पनि सबै काम गर्न सक्षम हुन्छन् भन्ने उदाहरण दिएको बताएका मेयर पराजुलीले थप भनेका छन्, ‘यो वर्ष हामीले विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरेर अपाङ्गता भएका व्यक्तिहरुको लागि विभिन्न कार्यक्रम ल्याउँदैछौँ ।’

|दौडमा सहभागीहरुसँगै मेयर भीम पराजुली। तस्वीरः सुजता लिम्बू, मकालु खबर।|

कार्यक्रममा सहभागीसँगै राजनीतिक दल, नागरिक समाजका अगुवा, महिला अधिकारवादीहरु तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया