प्रधानमन्त्री ओलीले राष्ट्रसंघको विशेष सभालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने भएका छन् । डिसेम्बर ३ र ४ तारिखमा हुने महासभालाई प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने भएका हुन् ।

सो विशेष सभालाई विश्वका नेता, राष्ट्रसंघका उच्च अधिकारी र भ्याक्सीनको विकास गरिरहेका कम्पनीका प्रमूखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कोभिड–१९ को महामारी र यसले पारेका प्रभावहरुको बारेमा सम्बोधन गर्नु नै महासभाको मुख्य उद्देश्य रहेको छ ।

सो महासभामा प्रधानमन्त्री ओलीले गर्ने सम्बोधनको भिडियो रेकर्ड गरेर महासभा पुर्‍याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि मन्त्रिपरिषदको वैठकले प्रधानमन्त्री ओलीको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधिमण्डल गठन गरेको थियो । ओलीले महासभाको पहिलो दिन नै सम्बोधन गर्नेछन् ।

उक्त महासभामा १४१ वक्ताहरु रहने छन् । त्यसमध्ये ५३ राज्यप्रमुख, ३९ सरकार प्रमुख र ४ उप्रधानमन्त्री र ३८ जना मन्त्रीहरु रहेका छन् ।

प्रतिक्रिया