सरकार अब गाउँमै रोजगारी सिर्जना गर्नेतर्फ लाग्नुपर्छ : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दुई निर्वाचन क्षेत्र जोड्न सेती नदीमाथि निर्मित पक्की पुलको आज एक समारोहबीच उद्घाटन गरेका छन्।

उनले तनहुँ निर्वाचन क्षेत्र नं १ अन्तर्गतको व्यास नगरपालिका र निर्वाचन क्षेत्र नं २ अन्तर्गतको ऋषिङ गाउँपालिका जोड्ने सोडेस्थित सेती नदीमाथिको पक्की पुलको उद्घाटन गरेका हुन् ।

उक्त पुलले व्यास नगरपालिका–१३ र ऋषिङ गाउँपालिका–३ लाई जोड्छ । विसं २०७१ असार २९ गते सम्झौता भई विसं २०७७ वैशाख ३० गते उक्त पुलको निर्माण सम्पन्न भएको छ । रु १० करोड ७१ लाख २७८ लागत रहेको उक्त पुलको लम्बाइ १०५ मिटर रहेको छ ।

सो अवसरमा वरिष्ठ नेता पौडेलले पुल निर्माणसँगै यस भेगको विकास निर्माणले गति लिने बताए । “गाउँबाट विचलित भएर भागिरहेको मनलाई गाउँमै फर्काउने अभियान निरन्तर सञ्चालन गरिरहनु पर्दछ”, उनले भने, “गाउँमै रोजगारी सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्छ । गाउँमा सेवा र सुविधा पु¥याएर गाउँमै बस्ने वातावरण सरकारले सिर्जना गर्नुपर्छ ।”

गाउँमै बिजुली, विद्यालय, सडक, खानेपानी पुगेपनि गाउँमा रोजगारी नपुगेकाले गाउँबाट मानिस शहर झर्ने क्रम शुरु भएको नेता पौडेलको भनाइ थियो । “अब गाउँमै रोजगारी र आम्दानीको अवस्था सिर्जना गर्नेतर्फ सबै सरकार लाग्नुपर्छ”, उनले भने । विगतमा देशको राजनीतिक व्यवस्थाको टुङ्गो नहुँदा देश अलमलमा परेपनि अब सबै व्यवस्था टुङ्गिसकेकाले अबको एउटै मात्र ध्यान विकास र समृद्धि हुनुपर्नेमा वरिष्ठ नेता पौडेलले जोड दिए।

संविधानसभा सदस्य झुलबहादुर आले, गण्डकी प्रदेश सभा सदस्य डोवाटे विक, सरिता गुरुङलगायतले पक्की पुल निर्माणसँगै यहाँका बासिन्दालाई कृषि उपज सामग्री बजारसम्म ल्याएर बिक्री गर्न सहज हुने बताए।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पुल निर्माणले यस भेगको समृद्धिको ढोका खुलेको बताए । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले पुल निर्माण पश्चात दुवै पालिकाका सर्वसाधारणलाई आवतजावतमा सहज हुने बताए।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खामबहादुर मल्लले लामो समयको पर्खाइपछि बल्ल पुल निर्माण सम्पन्न भएकाले दक्षिणी भेगका बासिन्दालाई ठूलो राहत पुगेको बताए ।

प्रतिक्रिया