ओलीलाई संयुक्त रुपमा लिखित जवाफ दिने पाँच नेताको तयारी, सुरक्षाको कारण देखाउँदै धुम्बाराही जान मानेनन् प्रधानमन्त्री

काठमाडाैं । आज (मंगलबार) दिउँसाे १ बजे बस्न लागेकाे नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सदस्यहरूले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले उठाएका प्रश्नकाे संयुक्त रूपमा लिखित जवाफ दिने तयारी गरेका छन् ।

अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई लिखित जवाफ दिने तयारी गरेकाे स्राेतकाे भनाइ छ । प्राप्त जानकारी अनुसार त्यसका लागि उनीहरुले आइतबार र सोमबार सघन छलफल समेत गरेका थिए ।

प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा ओलीलाई विभिन्न विषयमा प्रश्न उठाउँदै १९ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसकाे दश दिनपछि गएकाे शनिबार प्रधानमन्त्री ओलीले जवाफी ३८ पृष्ठ लामाे प्रतिवेदन पेश गरेका थिए ।

ओलीकाे जवाफी प्रतिवेदनमा प्रचण्डको व्यक्तिगत जीवन तथा प्रचण्डलाई जनयुद्धकालदेखिका प्रश्न साेधिनुका साथै विभिन्न आरोप लगाएपछि नेताहरूले संयुक्त रूपमा जवाफ दिने तयारी गरेकाे एक सचिवालय सदस्यले जानकारी दिएका छन् ।

यद्यपी ओलीको जवाफी प्रतिवेदनपछि प्रचण्डपक्षीय नेताहरु झनै बिच्किएको ठहर गर्दै ओलीनिकट नेताहरुले प्रचण्डसँग फेरि छलफल थालेका कुराहरू बाहिरिरहेका छन् । दुवैकाे प्रतिवेदनमा सचिवालयका सदस्यहरूले आज छलफल गर्नेछन् । छलफलपछि विवाद वारपार हुन सक्ने अधिकांश नेताहरूकाे ठम्याइ छ ।

यसैबीच प्रधानमन्त्री ओली सुरक्षाकाे कारण देखाउँदै पार्टी कार्यालय धुम्बाराही जान नमानेपछि नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएकाे छ । सुरक्षाका निकायहरुले धुम्बाहारीमा सुरक्षा जोखिम रहेको भन्ने सूचना प्रधानमन्त्रीलाई दिएपछि उनले धुम्बाराही जान अस्वीकार गरेकाे ओली निकट एक नेताले बताए ।

बैठक निर्धारित समयमै हुनेछ ।

प्रतिक्रिया