कोटेश्वरस्थित स्काई ज्वलेर्सका सञ्चालकसहित २ जना पक्राउ

काठमाडाैं । भन्सार छलि चोरी निकासी गरी सुन ल्याएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कोटेश्वरस्थित स्काई ज्वलेर्स संचालक काठमाडौं महानगरपालिका-३२ बस्ने तेह्रथुम छथर गाउँपालिका-४ घर भएका ३२ वर्षीय कुमार सेन्चुरी र काठमाडौं महानगरपालिका-१५ बस्ने रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका ३२ वर्षीय गंगा बहादुर मगर रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले गत शुक्रबार दिउँसो काठमाडौं महानगरपालिका-९ सिनांमगलस्थित गोल्डेन गेट अगाडिबाट गंगा बहादुरलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट नगद ११ लाख ८६ हजार ५ सय फेला पारेको र थप अनुसन्धानको क्रममा उनले राजश्व छलि गरी ल्याएको सुनका बालाहरु कोटेश्वरस्थित स्काई ज्वलेर्स संचालक कुमारलाई बिक्री गर्ने गरेको भन्ने खुल्न आएपछि आइतबार उक्त ज्बलेर्सबाट करिब १४९.९५ ग्राम बराबरको ३ थान सुनको बाला सहित कुमारलाई समेत पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया