चिनियाँ रक्षामन्त्री र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र एक दिने नेपाल भ्रमणका लागि आएका चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेइ फेङहेबीच भेटवार्ता भएको छ । आज अपरान्ह वेई र प्रधानमन्त्री ओली बीच बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेइ फेङहेबीच भेटवार्ता

रक्षामन्त्री वेई आज बिहान पौने ११ बजेतिर चार्टर्ड जहाजमार्फत काठमाडौं आइपुगेका हुन् । २१ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल आएका फेङहेलाई स्वागत गर्न विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायत उपस्थित भएका थिए।

फेङहेलाई गृहमन्त्री थापाले पुष्पगुच्छा दिनुका साथै कुहिनो मिलाएर स्वागत गरेका थिए।

आजै रक्षामन्त्री फेङहेले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ। उनी आजै स्वदेश फर्कनेछन्।

प्रतिक्रिया