मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

‘सरकार लगानीका लागि चाहिने सेवा र सुविधा दिन तयार छ’ – प्रधानमन्त्री

निजी क्षेत्रका लागि आवाश्यक पर्ने सेवा सुविधा दिन सरकार तयार रहेको प्रधानमन्त्री केपी ओली शर्माले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लगानी गर्न कानुन बाधक भए त्यसलाई परिमार्जन गर्ने बताए ।

उद्योगधन्दाको विकास विना देश विकास नहुने भएकोले सरकार देशमा उद्योग स्थापनाको पक्षमा रहेको ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव श्रृंगलाबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् ।

आज (बिहीबार) बिहान नेपालमा आएका श्रृंगलाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

बिहीबार काठमाडौँ आएका भारतीय विदेश सचिव श्रृंगला दुई दिनका लागि नेपाल आएका हुन् । उनी काठमाडौँ आएदेखी निरन्तर भेटघाट क्रममा छन् । उनले परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी हुनुका साथै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गरेका छन् ।

उनले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

शुक्रबार गोरखा पुगेर भारत सरकारले त्यहाँ पुनःनिर्माण गरेका तीन विद्यालय भवन उद्घाटन गर्ने र मनाङमा भारतको सहयोगमा निर्माण भएका घर र बौद्ध गुम्बाको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

संवैधानिक आयोगका पदाधिकारी नियुक्तिमा भएको ढिलाइमा सरकार मात्रै दोषी छैन : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संवैधानिक आयोगका पदाधिकारी नियुक्तिमा भएको ढिलाइमा सरकार मात्रै दोषी नभएको दाबी गरेका छन् ।

सङ्घीय संसद्को संसदीय सुनुवाइ विशेष समितिको बिहीबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिको रूपमा उपस्थित मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । उनले पदाधिकारी नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्को बैठक पटक–पटक कोरम पुग्न नसकेका कारण बस्न नसकेको उल्लेख गर्दै सरकारलाई अप्ठ्यारो पारौँ भन्ने दृष्टिले हेर्न नहुने बताए ।

१,६१४ सङ्क्रमित थप, काठमाडौँ उपत्यकामा ७८५ नयाँ सङ्क्रमित

देशभर पछिल्लो २४ घण्टामा एक हजार ६१४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ४९१ जनाको स्वास्थ्य परीक्षण गर्दा ६४० महिला र ९७४ पुरुष गरी उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । परीक्षणअनुसार सङ्क्रमितको दर १३ दशमलब ४ रहेको बताइएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख २७ हजार ६४० पुगेको छ । पछिल्लो समय एक हजार ४२७ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ९ हजार ४३५ पुगेको छ । निको हुने दर ९२ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । देशभर १६ हजार ७९३ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये १० हजार ५७५ होम आइसोलेशनमा छन् । संस्थागत आइसोलेशनमा रहेकामध्ये ३३३ जनाको सघन उपचार कक्ष र ५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

देशभर ६८० जना क्वारेन्टिनमा छन् । हालसम्म १७ लाखको पिसिआर परीक्षण भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४१२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७८५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा ६३७ महिला र ४४८ पुरुष छन् । त्यसमध्ये काठमाडौँमा सात हजार ६४४, ललितपुरमा एक हजार ४९४ र भक्तपुरमा ५८९ जना सक्रिय सङ्क्रमित छन् । हाल मनाङ, डोल्पा र मुगुमा शून्य सङक्रमित छन् ।

नेकपा (माओवादी केन्द्र) देशभक्त समाजवादी आन्दोलनको पक्षमा

नेकपा (माओवादी केन्द्र) ले “मुख्यतः रुपान्तरणमा जोड एवं महाध्रुवीकरण पहल” को निर्णय गरेको छ । यही मंसिर ८ गतेदेखि मंसिर १० गतेसम्म काठमाडौं बसेको पार्टीको केन्द्रीय समितिको छैठौं बैठकले यस्तो निर्णय लिएको हो ।

आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा (माओवादी केन्द्र) ले यस्तो जानकारी दिएको हो । देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने पनि निर्णय गरिएको पार्टीले जनाएको छ ।

कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष गोपाल किराँतीले पनि अब व्यापक ध्रुवीकरणमा जाने बताए ।

पार्टीका उपाध्यक्ष विनोदकुमार उपाध्यायले नयाँ ढंगको विचारको विकास गरिराखेको सुनाउँदै एकजुट भएर क्रान्तिकारी विचारको विकास गर्नुपर्नेमा जोड दिए । उनले देशभक्तिपूर्ण आन्दोलन गर्नुको विकल्प नरहेको पनि बताए

पार्टीले पुस ११ गते माओ दिवसमा ‘समाजवादी निर्वाचन प्रणालीको संयुक्त राज्यसत्ता निर्माणबारे’ काठमाडौमा छलफल गोष्ठी गर्ने, जनयुद्ध दिवस फागुन १ गते देशव्यापी अन्तरक्रिया भेलाहरु गर्ने, आठ मार्च कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी)लाई सहयोग गर्ने, चैत्र २४ गते जनआन्दोलन दिवसमा सशक्त जनप्रदर्शन तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ०७८ बैशाखमा पार्टीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्तामा कुँवर

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्तामा वसन्तबहादुर कुँवरलाई तोकिएको छ ।

प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरलाई केन्द्रीय प्रवक्ता तोकेको हो ।

नेपाल प्रहरीद्धारा सम्पादित जनसरोकारका कामकारबाहीलाई यथार्थ तथा तथ्यपरक रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कुँवरलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

चुनौतीलाई पनि अवसरको रुपमा लिनुपर्छ : भवानी राणा

काठमाडौं । कोरोनाको कारण आएका चुनौतीहरूलाई अवसरको रुपमा लिएर काम गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बताइन् ।

कोरोनाको कारण विश्वको नै अर्थतन्त्र थला परेको र त्यसको प्रभाव नेपालमा पनि परेको कारणले अब चुनौतीलाई पनि अवसरको रुपामा काम गर्न सकिने राणको भनाई छ ।

निजी क्षेत्रको समस्या समाधानका लागि लागिपर्ने संस्था भएको कारणले पनि कोरोनाको कारणले थला परेको अर्थतन्त्रलाई माथि उठाउन अवश्यक रहेको उनले बताइन् ।

उनले महासंघको साधारणसभामा स्वागत मन्तत्तय राख्दै एमसीसीले नेपालको निजी क्षेत्रलाई पनि धेरै नाफा हुने र देशको मुहार फेर्ने बताउँदै एमसीसी सकेसम्म चाँडै पास गर्नुपर्ने धारणा समेत राखिन् ।

कालापानी र लिपुलेकलाई वेदव्यास धामको रुपमा विकास गरौँ : विश्व हिन्दु युवा संघ

विश्व हिन्दु युवा संघले कालापानी र लिपुलेकलाई वेदव्यास धामको रुपमा विकास गर्नुपर्ने बताएको छ । आज (बिहीबार) संघका अध्यक्ष ऋषिकेश जंग शाहले भारतीय विदेश सचिव नेपाल आएको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन् ।

संघका अध्यक्ष शाहले नेपाल भारतको बिचमा ऐतिहासिक, धार्मिक तथा पारिवारिक सम्बन्ध रहेको र पछिल्लो पटक लिपुलेक र कालापानी सिमा विवादले गर्दा केहि तिक्तता उत्पन्न भएको भन्दै उक्त तिक्ततालाई समाधान गर्न सो क्षेत्रमा वेदव्यास धाम बनाउनु पर्ने जिकिर गरेका छन् ।

शेयर बजारमा नयाँ कीर्तिमानी : कारोबार रकम र नेप्से परिसूचक दुबैले तोडे रेकर्ड

बिहीबार नेपाली शेयर बजारको इतिहासमै नयाँ कीर्तिमान कायम भएको छ । आज एकैदिनको शेयर कारोबार रकम र नेप्से परिसूचक दुबैले ऐतिहासिक रेकर्ड राखेका छन् ।

आज एकैदिन ७ अर्ब ६१ करोडको सेयर कारोबार भएको छ । यो अहिलेसम्मकै उच्च कारोबार हो । यसअघि मंसिर ७ गते मात्रै पौने ६ अर्ब ८७ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । आज २ सय १ कम्पनीको साढे ७ अर्ब रुपैयाँ बढी शेयर किनबेच भएको हो । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ ।

आज नेप्से परिसूचकले पनि ऐतिहासिक उचाई कायम गरेको छ । परिसूचक १८.४३ अंकले बढेर १८९३.२४ अंकमा पुग्न सफल भएको छ ।

इन्डोनेसियामा भ्रष्टाचार आरोपमा एक मन्त्री गिरफ्तार
जाकार्ता । इन्डोनेसियाका समुद्री तथा मत्स्यमामिला मन्त्री इधी प्राबोवोलाई प्रहरीले गिरफ्तार गरेको छ । समुद्री झिँगाहरूको ओसार पसारसम्वन्धी विवादास्पद नीतिमा भ्रष्टाचार गरेको आरोप लगाउँदै उनलाई गिरफ्तार गरिएको हो ।

इन्डोनेसियाको भ्रष्टाचार निवारण आयोगका उच्च अधिकारीले राजधानी जाकार्तामा बुधबार बेलुका पत्रकार सम्मेलन गरी मन्त्री प्राबोवोलाई गिरफ्तार गरिएको जानकारी दिएका हुन् ।

मन्त्री प्राबोवोले ओसारपसारसम्वन्धी निर्णय गर्ने क्रममा आयातकर्ताहरूसँग मिलेर झण्डै छ लाख ९५ हजार ६५५ अमेरिकी डलर भ्रष्टाचार गरेको आयोगका अधिकारीहरूले दावी गरेका छन् ।

बुधबार बिहान उनलाई आयोगका अधिकारीहरूले कार्यालयमा उपस्थित हुन आग्रह गर्दा उनी र उनकी श्रीमतीले अस्वीकार गरेपछि उनलाई अपरान्ह गिरफ्तार गरिएको जनाइएको छ ।

मन्त्रीसँगै सात जनालाई आयोगले काण्डका बारेमा सोधपुछ गर्न लागेको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।

मन्त्री प्राबोवोलाई प्रहरीले पक्राउ गरेपछि राष्ट्रपति जोको विडोडोले अर्का मन्त्री लुहुत पन्जैतानलाई उनको मन्त्रालयको पनि जिम्मेवारीदिएका छन् ।

प्रतिक्रिया