नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छ – महासचिव पौडेल

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताएका छन् । प्रेस संगठन रुपन्देहीले आज साँझ बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेकपामा यो तहको समस्या कहिल्यै नदेखिएको बताए। उनले भने, “कठिन र जटिल अवस्थामा आइपुगेको नेकपालाई एकताबद्ध गरेर जनताका अपेक्षा पूरा गर्न सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न अहिले खडा भएको छ ।”

महासचिव पौडेलले नेकपाको भविष्यसँग देश र जनताको भविष्य जोडिएको बताउँदै पार्टी एकता जोगाउँदै विवाद समाधान गरी अघि बढ्नाको विकल्प नभएको बताए । उनले अन्तिम क्षणसम्म पनि पार्टी एकता जोगाउन लागिपर्ने उल्लेख गरे । पार्टीभित्र मर्यादाले सीमा नाघेको बताउँदै उनले सबैले पार्टीको विधि र प्रक्रियाभित्र रहेर छलफल गर्न जरुरी रहेको स्पष्ट पारे । मर्यादा बाहिर गएर भएका आरोपप्रत्यारोप समाधान गर्दै पार्टी पुनः एकताबद्ध हुनेछ भन्दै उनले पार्टी एकताको रक्षाका लागि एक ठाउँमा उभिन सबैलाई आग्रह गरे ।

पार्टीभित्रको विवाद समाधानका लागि बनेको कार्यदलले ल्याएका प्रस्ताव र निर्णयलाई कार्यान्वयनतर्फ अघि बढाउने गरी नै पार्टीको विवाद समाधान हुने विश्वास व्यक्त गर्दै महासचिव पौडेलले आन्तरिक जीवनमा देखिएका समस्यालाई समाधान गर्दै पार्टी एकतालाई अरु बलियो बनाउने गरी अघि बढ्नका लागि प्रयासरत रहेको बताए ।

पत्रकार भेटघाटमा पत्रकारले सोधेको जिज्ञासाको जवाफ दिँदै महासचिव पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा सत्ता समीकरणका विषयमा नभई संवैधानिक अङ्गमा हुने नियुक्तिका विषयमा छलफल भएको बताए। पौडेलले सरकार देश र जनताका पक्षमा एकपछि अर्को निर्णय गर्दै अगाडि बढेको स्पष्ट पारे।

अर्थमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला पुगेका पौडेलले आज उद्योगी व्यवसायीसँग बुटवलमा छलफल गरे.का हुन् । अर्थमन्त्री पौडेल बुधबार रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । उनले तिनाउ – दानव कोरिडोर सडकको शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया