राजेश-आर्यनदेखि साम्राज्ञी-पूजासम्म हानिए म्युजिक भिडियोतिर

  • एन्जिला क्षेत्री

काठमाडौं । चीनको वुहानबाट फैलिएको नोेबेल कोरोना भाइरस (कोभिड १९) का कारण विगत ८ महिनादेखि नेपाली चलचित्र क्षेत्र ठप्प रहेको छ । त्यस्तै चलचित्र लगायत ठप्प रहेका अन्य व्यवसायहरु असार १ गतेदेखि सञ्चालनमा आएतापनि चलचित्र क्षेत्र भने कहिदेखि खुल्ने हो थाहा छैन ।

सरकारले अन्य व्यवसायहरु खोल्न अनुमती दिए पनि चलचित्र क्षेत्रलाई भने अहिलेसम्म अनुमती दिएको छैन । चलचित्रकर्मीहरु सरकारको अनुमती पर्खिरहेका छन् । चलचित्र सँगै हलहरु पनि ठप्प नै छन् । हलवालाहरु लाखौको घाटा व्यहोर्न बाध्य छन् । फागुनदेखि जेठसम्म र असोजदेखि मंसिरसम्म लगानीकर्ताहरुको लगानी जोगिने र हलवालाहरुको पनि राम्रो कमाइ हुने महिना हो ।

संकटमा रहेको चलचित्र क्षेत्रलाई अब कसरी चलाएमान बनाउन सकिन्छ भनि चलचित्रकर्मीहरु लागि परेका छन् । कति प्राविधिकहरु र हलहरुमा काम गर्ने कामदारहरुको रोजिरोटि खोसिएको छ । तर, पनि सरकारले चलचित्र क्षेत्रलाई खोल्नको लागि भने अनुमती दिएको छैन । त्यस्तै चलचित्र नै ठप्प रहेपछि कति नायक नायिकाहरु धमाधम म्युजिक भिडियो गर्न थालेका छन् ।

लामो समयसम्म घरभित्रै बसेर निसास्सियका कलाकारहरु म्युजिक भिडियोतिर व्यस्त हुन थालेका हुन् । महानायक राजेश हमालदेखि आर्यनसम्म र साम्राज्ञीदेखि पुजासम्म म्युजिक भिडियोमा हानिएका छन् । घरमा बस्दा बस्दै फस्ट्रेसनमा जाने चिन्ताले पनि म्युजिक भिडियोतिर जान थालेको कलाकारहरु बताउँछन् ।

महानायक राजेश हमाल, आर्यन सिग्देल, पल शाह, आकाश श्रेष्ठ, पूजा शर्मा, साम्राज्ञी राज्य लक्ष्मी शाह, वर्षा राउत, वर्षा सिवाकोटि, पुष्प खड्का, जितु नेपाल, स्वस्तिमा खड्का, निश्चल बस्नेत लगायतका कलाकारहरु म्युजिक भिडियोमा धमाधम काम गरिरहेका छन् । महानायक हमालले लोक दोहोरी गीत ‘मन्जरी’ मा काम गरिसकेका छन् । त्यस्तै उनले अहिले प्रचण्डकी नातिनी स्मीता दाहालको ‘मालिङ्गाे’मा काम गरेका छन् ।

महानायक हमाल बैवाहिक जीवनमा प्रवेश गरेसँगै फिल्मी क्षेत्रमा कमै सक्रिय छन् । त्यसो त उनका पछिल्ला फिल्महरुले आशातित सफलता पाउन सकेनन् । सकुन्तला र बागमती फिल्म असफल भएपछि हमालले पुनः फिल्म क्षेत्रमा फर्कने हिम्मत गरेका छैनन् । बरु विभिन्न रियालिटी शो र कार्यक्रमहरुमा हमालको व्यस्त दैनिकी छ ।  पछिल्लाे समय चलचित्र क्षेत्रमा उदाउने हिम्मत नगरेपनि म्युजिक भिडियाेका अफरहरूलाइ भने नकार्न सकेका छैनन् ।

श्रीमती मधु भट्टराईसँग ‘जिन्दगी बाट म्युजिक भिडियाे यात्रा सुरू गरेका हमालले अहिलेसम्म ‘जुनमा हेरू तिमीलाई, चट्ट बसम देउरालीमा, मन्जरी, मालिङ्गाे’ लगायतमा काम गरिसकेका छन् ।

आर्यनले पनि पहिलो पटक ‘दसैं तिहार’ बोलको म्युजिक भिडियोमा काम गरेका हुन् । उनिहरुको पहिलो म्युजिक भिडियोलाई युट्युब भ्युजको हिसाबले हेर्ने हो भने दर्शकले राम्रो नै मानेको देखिन्छ ।

त्यस्तै पछिल्लो पुस्ताकी बोल्ड एन्ड सेक्सी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले पनि पहिलो पटक म्युजिक भिडियोमा काम गरेकी छिन् । उनले आफ्नै आमा नेहाको गीतमा प्रेमी देवांश जङबहादुर राणासँग अभिनय गरेकी हुन् । विगत १ वर्षदेखि चलचित्रमा उनको अभिनय हेर्न नपाएका दर्शकले म्युजिक भिडियोमै भएपनि अभिनय हेर्न पाएका छन् । अहिलेकी चर्चित नायिका पुजा शर्माले पनि ‘काले दाई’ लगायतका केहि म्युजिक भिडियोमा काम गरेकी छन् । म्युजिक भिडियोमा सर्वाधिक काम गर्ने मध्यमा पर्छन् नायक पल शाह र पुष्प खड्का ।

के चलचित्र क्षेत्र ठप्प रहेका कारण नै नायक नायिकाहरु म्युजिक भिडियोतिर काम गर्न थालेका हुन् त ? भन्ने प्रश्न धेरैको मनमा उठ्न थालेकाे  छ । तर, लामो समयसम्म घरभित्रै बसिरहँदा फस्ट्रेसनमा जाने चिन्ताले र सधै क्यामराको अगाडि खेलिरहेका कलाकार बन्द कोठा भित्र बसिरहँदाको दिक्दारीपनले नै म्युजिक भिडियोमा काम गर्न थालेको आँकलन गर्न सकिन्छ ।

प्रतिक्रिया