चितवनमा दुई जना कोरोना संक्रमितको मृत्यु

चितवन। चितवनको भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । डेढ घन्टाको फरकमा दुई जना संक्रमितको मृत्यु भएको हो ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुर महानगरपालिका–१० बस्ने ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको मृत्यु भएको हो ।

भरतपुर १० बस्ने ७९ वर्षीय पुरुषमा यही कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई सोही दिन कोभिड आईसीयूमा राखेर उपचार सुरु गरिएकोमा आइतबार राति १ः२० बजे उनको मृत्यु भएको सूचना अधिकारी पौडेलले बताए ।

यसैगरी भरतपुर अस्पतालमै उपचाररत धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको सोमबार बिहान २ः५५ बजे मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि यही कात्तिक ५ गते उनी अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया