धरौटी नलिइ कोरोना संक्रमितको उपचार गर्न सरकारको निर्देशन

काठमाडाैं । सरकारले सबै सरकारी अस्पतालहरुलाई धरौटी नलिइ कोभिड १९ का बिरामीको उपचार गर्न निर्देशन दिएकाे छ । आज (आइतबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले यसबारे जानकारी दिएका हुन् ।

मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गाैतमले भने, ‘धरौटी सम्बन्धी सूचना निकाल्ने सबै अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्पष्टिकरण सोधिएको छ । सक्नेसँग शुल्क लिने र नसक्नेलाई निशुल्क उपचार गर्ने हाम्रो पूर्ववत् निर्णय यथावत् रहेको कुरा पनि जानकारी गराउन चाहन्छु ।’

यस्तै प्रवक्ता गाैतमले कोभिड १९ मृतकको संख्या फरक-फरक आएको भन्दै सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय समित कार्तिक २ गते गठन गरिएकाे पनि जानकारी दिए । समितिमा स्वास्थ्य मन्त्रालयका सहसचिव, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख र सीसीएमसीका एक जना चिकित्सक रहेका छन् ।

समितिले उक्त काम गरिरहेकाे प्रवक्ता गाैतमकाे भनाइ छ ।

सरकारले गत असोज १९ गते कोभिड-१९ संक्रमितको उपचार शुल्क लिने निर्णय गरेकाे थियाे । सरकारकाे उक्त निर्णयसँगै निजि तथा सरकारी अस्पतालहरुले कोभिड-१९ का संक्रमितको उपचारमा मोलमोलाई सुरु गरेका थिए ।

प्रतिक्रिया