मन्त्रिमण्डल पुनर्गठनबाट किन पछि हटे मुख्यमन्त्री ?

काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनमा कसिएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफ्नो उक्त निर्णयबाट पछि हटेका छन् । मुख्यमन्त्री शाहीले मन्त्रिमण्डल पुर्गठनका लागि तीव्र छलफलमा जुटेपनि आज (आइतबार) नै पुनर्गठन नहुने मुख्यमन्त्री स्राेतकाे भनाइ छ ।
स्राेतका अनुसार एक–दुई दिनपछि मात्रै मन्त्री हेरफेरको काम हुनेछ । आन्तरिक छलफल र परामर्श भने जारी छ ।
मुख्यमन्त्री शाहीले बिहान मात्रै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता तथा सोहि प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालासहितका नेताहरुसँग परामर्श गरेका थिए । उनले प्रकाश ज्वालालाई मन्त्रीबाट हट्न आग्रह समेत गरेका थिए । स्राेतका अनुसार पद बाँडफाँडमा सन्तुलन मिलाउन मुख्यमन्त्री शाहीले मन्त्री ज्वालालाई पदबाट राजीनामा दिन आग्रह गरेका हुन् ।
मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि नेपाल समूहका तीनजनालाई पदबहाली गर्ने भन्दै शाहीले आश्वासन दिएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दुई मन्त्रीहरुलाई पनि राजीनामा दिन आग्रह गरेका थिए ।
यद्यपी प्रम ओलीले आफू निकट मन्त्रीहरु आफ्नो पक्षका मन्त्रीहरु दल रावल र नन्दसिंह बुढालाई हतारमा राजीनामा नदिन सुझाएको स्रोतको भनाइ छ । मन्त्री रावलले भने राजीनामा दिने संकेत गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्,‘ कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु ।’
सांसद यामलाल कँडेलको अगुवाइमा असोज २५ गते १८ जना सांसदले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यतिबेला माधवकुमार नेपाल समूहसँगकाे सहमतिमा उनीविरुद्धकाे अविश्वासकाे प्रस्ताव फिर्ता भएकाे थियाे । साेही सहमति बमाेजिम आफ्नो मन्त्रिपरिषदमा हेरफेर गर्न लागेका हुन् ।








