हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

काठमाडौं । हास्यकलाकार मनोज गजुरेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको सोमबार पोजिटिभ रिपोर्ट आएको हो ।

बिहीबारपछि टाउको दुख्यो, शुक्रबार ९८ डिग्रीसम्म ज्वरो देखियो र शनिबार ढाड दुखेपछि गजुरेलले पीसीआरका लागि स्वाब दिएका थिए । फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिँदै गजुरेलले लेखेका छन्- ‘सेल्फ आइसोलेसनमा कडा नियम पालना गर्दै घरेलु उपचार लिइरहेको छु ।’

‘बिहीबारदेखि नै आइसोलेसनमा छु । बाबू नानीहरुलाई कुनै लक्षण छैन । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा नियम पालनासहित घरेलु उपचारमा छौँ’, गजुरेलले लेखेका छन्, ‘मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।’

गजुरेलले संक्रमणबाट बँच्न सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ भन्दै सचेत हुन सबैलाई आग्रह गरेका छन् । उनले नआत्तिन र चिकित्सकको सल्लाह अनुसार आइसोलेसनमा बस्न भनेका छन् । गजुरेल भने जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितको सुझावमा कोरोनाको उपचार गराइरहेका छन् ।

कलाकार गजुरेलले कोरोना भन्दा आफ्नो शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जा बलियो भएको भन्दै कोरोना जित्ने बताएका छन् । ‘मलाई विश्वास छ, मेरो शरीरमा प्रवेश गरेको यो भाइरस मेरो शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जा भन्दा बलियो पक्कै छैन’, उनले फेसबुकमा भनेका छन्, ‘त्यसैले मैले यो भाइरसलाई मेरो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु । तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जीत र भाइरसको हार झन् चाँडो हुनेछ ।’

प्रतिक्रिया