दसैंको रौनकता ल्याउने यी हुन् सदावहार दश गीत

  • एन्जिला क्षेत्री

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको चाड दसैं तिहार घर आँगनमा प्रवेश गरिसकेको छ । विश्वनै कोरोना भाइरसको त्रासबाट गुज्रिइरहेको बेला नेपालीहरुको घर आँगनमा ठूला चाडपर्व आएपनि कुनै उल्लास र रौनकता छैन ।

हाम्रा घर आँगनमा चाडपर्व आएको छनक नेपाली गीत संगितहरुले दिने गरेका छन् । नेपाली गीत संगितको इतिहासमा यस्ता धेरै गीतहरु छन् जसलाई चाडपर्वमा विशेष गरी सुन्न सकिन्छ । दसैंतिहार केन्द्रीत केही यस्ता गीतहरु अझैपनि जिवन्त छन् । यस्ता गीत संगितहरु कुनै भावविह्वल बनाउने छन् त कुनै खुसीयाली बाँड्ने । यी गीतहरु, जसले दसैं आएकोे महशुष गराउँछन् :

१. दशैं आयो

चलचित्र ‘मुग्लान’को ‘दशैं आयो’ बोलको गीत जसले हाम्रो घर आँगनमा दसैं आएको महशुष गराउँछ । उदितनारायण÷दिपा झासँग नारायण लामा र जुना प्रसाईंको स्वरमा रहेको यो गीत दसैंमा सबैभन्दा बढि बज्ने गर्दछ । लोकनाथ सापकोटाको शब्दमा सुरेश अधिकारीले संगीत भरेको यो गीत दसैं आएसँगै गाउँबेशी, शहरबजार सबै सबैतिर घन्किन थाल्दछ ।

यो गीतभित्रको एउटा शब्द ‘वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो, नेपालीजनको महानपर्व आँगनमा आइपुग्यो’ जुननिक्कै चर्चित छ ।

२. ‘फौजीलाई कुन हो दसैं कुन हो चाड तिहार’

दसैं तिहारसँगै रेडियो र टेलिभिजनहरुमा बज्ने ‘फौजीलाई कुन हो दसैं कुन हो चाड तिहार रु’ बोलको गीतले राष्ट्र सेवक सुरक्षाकर्मीको गाथा बोकेको छ । गायक जगदीश समालको स्वर रहेको गीतले चाडपर्वमा घर जान नपाएका सुरक्षाकर्मीहरुले कसरी ब्यारेकमा चाडपर्व मनाउन सक्छन् भन्ने दर्शाउँछ । राष्ट्रका अगाडी चाडपर्व केही हैन भन्ने सन्देश यो गीतले दिएको छ । गीतको म्युजिक भिडिओमा शशष्त्र प्रहरीको अभिनय छ । दीपक कोइरालाको शब्दलाई सुरेश गैरेले संगीत भरेका छन् ।

३. नमुछे आमा दही र टिका

नारायण रायमाझी र लक्ष्मण रायमाझी लगायतको ‘नमुछे आमा दही र टिका’ बोलको गीत दसैं तिहारमा सुनिने लोकप्रिय गीत हो । परदेशिएको छोरा चाडपर्वमा घर आउँछ भनेर पर्खेर बसेकी आमालाई संवोधन गरेर गीतको प्लट तयार पारिएको छ ।
‘दैवले पर्दा उठायो आमा आउँदिन फर्केर, दैलाको तस्विर छातीमा टासें आँसु बनाएसी जस्ता ममस्पर्शी शब्दहरु रहेकाले यो गीत खासगरी गाउँघरमा परदेशिएका सन्तानको पर्खाईमा रहेकाहरु माझ लोकप्रिय छ ।

४. दसैं नै हाे कि, याे मेराे दशा

गायक योगेश्वर अमात्यले गाएको दसैं गीतले आम गरिब नेपालीहरुको पिडा दर्शाएको छ । डार्क कमेडी जनरामा बनेको गीतमा आर्थिक अवस्था कमजोर भएको परिवारलाई दसैं आएसँगै कसरी खर्च धान्ने पिरलोले सताएको छ ।

५. दसैं तिहार आउँदा

त्यस्तै अर्को गीत ‘दसैं तिहार आउँदा’ जसले दशैं तिहारमा पल्टनमा गएकाहरु आफ्नो घर फर्किन नपाउँदाको पीडा कथालाई समेटेको छ । गायक विष्णु खत्री र गायिका बीमा कुमारी दूराले गाएको गीतमा गायक खत्रीकै शब्द छ ।
दसैं तिहार जस्तो चाडमा पनि आफ्नो जन्म घर फर्किन नपाउँदा र आफूसँगैका साथीभाई घर जाँदा एउटा लाहुरेको पीडालाई गीत मार्फत् खत्रीले व्यक्त गरेका छन् ।

६. सुन कथा 

गरिब निमुखाहरुको पीडा बोकेको अर्को गीत हो, ‘सुन कथा हाम्रो दसैंको’ घरमा खाने खर्च नहुँदा दसैंको दिन पनि अर्काको घरमा गई मागेर खानुपर्ने एउटा गरिबको कथालाई गीतमा समेटिएको छ । जसमा खुमन अधिकारी र देवी घर्ती मगरको स्वर छ ।

११ महिनासम्म दुखः कष्ट गरेर जीवनयापन गरेका छन्, जसलाई एक छाक खान धौधौ छ उनीहरुलाई वर्ष दिनमा आउने चाडवाडले अझै पिडा दिन्छ भन्ने भाव यो गीतले देखाउँछ ।

७. दसैं तिहारसँगै मनाउँला

कलाकार विष्णु खत्री र बीमाकुमारी दूराको आवाजमा सजिएको ‘दसैं तिहारसँगै मनाउँला’ बोलको गीतले पनि दसैंको आगमनको संकेत गर्दछ । घरमा जस्तो बाहिर हुँदैन । देशमा जस्तो विदेशमा हुँदैन । गीतले दसैंमा आउँछु भन्दा आउन नपाएका विदेशिएका नेपालीको कथालाई बोकेको छ । गीतमा विदेशीएका नेपालीहरुको पिडा र कष्टपूर्ण कामलाई झल्काईएको छ ।

८. बाटो हेरे हुन्छ है घरमा

गाउँमा साथीभाइ र आफन्तसँगै बसेर चाडबाड मनाउन नपाउँदाको खिन्न भएको मन जतिबेला घर जान पाइन्छ त्यत्तिबेला पुलकित हुन्छ । गायिका विष्णु माझी र गायक रेशम सापकोटा, प्रकाश क्षेत्रीले गाएको गीतले दसैंमा घर आउनेहरुको मनको भावना पोखेको छ । विदेशिएको मान्छे घर फर्किँदै छ भन्ने थाहा भएपछि घरमा छुट्टै रमाइलो हुन्छ ।

९. फेरि आयो दसैं र तिहार

जब शरद ऋतुको आगमन हुन्छ तब मनमा एक किसिमको खिन्नता पैदा हुन थाल्छ । शरद ऋतुले दसैं तिहार आयो भन्ने महशुष गराउँदछ । भने विष्णु माझी र सुन्दरमणि अधिकारीले गाएको ‘फेरि आयो दशैं तिहार नि’ बोलको गीतले पनि त्यहि भाव बोकेको छ । सुन्दरमणी स्वयम् गीतको शब्द रचना र संगीत गरेका छन् ।

१०. ‘वर्षमा दिनमा लैलै’

गायक सुगम पोखरेलले गाएको गीतले अहिलेका शहरीया युवायुवतीहरुलाई आकर्षित गर्छ । ‘वर्षमा दिनमा लैलै’ बोलको गीतले दसैं नजिकिएको छनक दिन्छ । लोकपप शैलीको यो गीतको म्युजिक भिडियोमा दसैंसँगै चंगाको महत्व दर्शाइएको छ । गीतमा सयपत्री, मखमली फुलहरुको समेत वर्णन गरीएको छ ।

प्रतिक्रिया