गाडी बनाउन खाडीतिर लागौं, नेपालमा सम्भावना भएको कृषि, पर्यटन र ऊर्जा हो : सुरज वैद्य(भिडियोसहित)

काठमाडाैं । नेपालमा नै सवारी साधन उत्पादन गर्नका लागि कम्पनी खोल्नेहरुको होडबाजी छ । नेपालमा सवारी साधनको व्यापार कस्तो छ ? नेपालमा गाडीको एसेम्बल गर्न सकिन्छ कि सकिँदैन ? सवारी साधन विक्रि वितरणको लागि नेपाली बजार कस्तो छ ? लगायतका विषयमा टोयोटा गाडीको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.का अध्यक्ष सुरज वैद्यसँग मकालु खबरका राजाराम न्यौपानेले गरेको कुराकानीको संक्षेपः

नेपालमा टोयोटा गाडीको बजार कस्तो छ ?

कोरोनाको कारणले सबै क्षेत्रको बजार अफ्ट्यारो अवस्थामा छ । सवारी साधनको विक्रिवितरणमा पनि परिस्थिति असहज छैन । कोरोनाको कारणले धेरैको रोजगारी गुमेको छ । अब आउने दिनहरु कस्तो हुने हो र कोरोनाको भ्याक्सिन कहिले आउने हो भनेर सबै हेरी बसेका छन् ।

अब नेपालमा सवारी साधनको बजार पहिलेकै अवस्थामा फर्किन कति समय लाग्ला ?

यकिन गर्न सकिँदैन । सरकारले विदेशी सामग्री कम भित्र्याउँ भनेको पनि ठीकै हो । सरकारले विदेशबाट आयात हुने वस्तु घटाउनुपर्छ भनेको छ । सरकारले पनि केही नीति परिवर्तन गर्नु पर्ने देख्छु ।

सवारी साधन बिक्री गर्ने कम्पनीहरुले धेरै नाफा खाने गर्छन् भनिन्छ नि ?

सवारी साधन बेच्ने कम्पनीहरुले धेरै नाफा खान्छन् भन्ने कुरामा म सरकारलाई नै सोध्छु । तपाईँहरुले हामीसँग २ सय ४० प्रतिशत कर लिनुहुन्छ । ठीक छ, कति बाटो बनाउनु भयो ? सवारी साधन गुड्ने बाटो अलिकति भए पनि बनाउनुस न ! काठमाडौंमा भएका बाटाहरु नीतिगत तरिकाले सञ्चालन गरौं न !

सरकारले लगानी गरेको साझा बसभन्दा पछाडी परियो भने धुँवा खाएर घर पुग्दा २ पटक नुहाउनुपर्ने अवस्था छ । सरकारको लगानी नै त्यस्तै ठाउँमा छ । हामीले वातावरण प्रदूषण कसरी कम गर्न सकिन्छ भनेर सरकारले सोच्नुपर्ने हो । तर, सरकारको यस्ता कुरामा ध्यानै छैन ।

नेपालमा सर्वसाधारणले सवारी साधन खरिद गर्न महँंगो हुनुको कारण के हो ?

संसारमा सबैभन्दा महंगो सवारी कर हुने मुलुकमा नेपाल पनि पर्छ । सरकारलाई २ सय ४० प्रतिशत हामीले कर तिर्नुपर्छ । भारतमा ८ लाख पर्ने गाडी नेपालमा ३०\४० लाख पर्छ । बिचको नाफा व्यापारीले खाएका हैनन् । त्यो पैसा कहाँ गयो भनेर सरकारलाई नै सोध्नुपर्छ ।

नेपालमा हाइब्रिड गाडीको विषयमा धेरै चर्चा भएको थियो, तर के कारणले आउन सकिरहेका छैनन् ?

गाडी भन्दा पनि नेपालको ट्रान्स्फरको विषयमा अलिकति टेन्सन छ । हामीले पेट्रोल, डिजेल र ग्यासमा खर्च गरिरहेका छौं ।
एकातिर हामी हाइड्रो र ऊर्जामा धेरै क्षमता छ भनिरहेका छौं । हाइड्रो र ऊर्जालाई छिमेकी देशहरुलाई निर्यात गर्ने भनिरहेका छौं । स्थानीय जनताले खपत गर्ने कुरा गरौं न ? जसका लागि त राज्यले कुनै सिष्टम बनाउनै सकेको छैन ।

रेल मार्गको निर्माण गरौं । यो एउटा सपना नै हो । सबै कुराको सुरुवात् सपनाबाट नै हुन्छ । अब विद्युतीय ऊर्जाको समय अएको छ । तर, राज्यले उचित नीति बनाउन पर्दछ ।

मैले घरमा ग्यास किन चलाउनु पर्यो ? विद्युतीय गाडीको पनि कुरा यही हो । सरकारलाई कर घटाउन अफ्ट्यारो छ । सरकार एकातिर विद्युतीय गाडीलाई प्रवद्र्धन गर्ने भनिरहेको छ अर्कोतिर कर बढाइरहेको छ । सरकार नै दोधारे नीतिमा छ ।

नेपालमा धेरै कम्पनीले गाडी एसेम्बल गर्ने भनेर कम्पनी दर्ता गरेका छन्, टोयोटाको योजना चैं के छ ?

नेपालको बजार अध्ययन गरेका छौं । नेपाली ग्राहकलाई नयाँ ब्राण्ड चाहिन्छ । नेपालमा अहिले सबैभन्दा धेरै नयाँ फोनको खपत हुन्छ । नयाँ मोडलको मोवाइल बजारमा आउना साथ नेपालीलाई चाहि हाल्ने परम्परा बनेको छ । फोन होस् वा गाडी परिवारले पनि नयाँ किन्न भनिहाल्छन् ।

तरपनि, नेपालमा नै गाडी एसेम्बल गर्ने सम्भावना म कमै देख्छु । मैले एउटा मात्रै मोडल उत्पादन गर्छु । त्यो एउटा मोडलको उत्पादनले यहाँको बजारलाई हुँदैन । नेपालमा गाडी उत्पादन गर्छु भन्नु सपना मात्रै हो ।

सरकारको करलाई बाइपास गरेर ल्याउने हो भने छुट्टै कुरा हो । मैले टोयोटा गाडी २ सय ४० प्रतिशत कर तिरेर ल्याउँछु । त्यसलाई २५ प्रतिशतमा ल्याएर नेपालमा नै एसेम्बल गरेर बेच्दा सरकारलाई फाइदा हुन्छ कि हुँदैन त्यो सरकारले बुझ्ने कुरा हो ।
नेपालमा त्यसको लोकल पार्ट कति बन्छ ? के बन्छ ? त्यसका धेरै कुरा बुझ्न आवश्यक छ ।

नेपालमा आफैं गाडी एसेम्बल गरेर विक्रि गर्ने बजार छैन । गाडी बनाउन खाडीतिर लागौं । नेपालको विकासमा कृषि, पर्यटन र ऊर्जाको योगदान हुन्छ । यस्ता विषयमा ध्यान दिउँ । नेपालमै गाडी एसेम्बल गरेभने साथीहरुलाई शुभकामना छ ।

 

प्रतिक्रिया