रक्षा मन्त्रालय नेपाल पक्षलाई दिने तयारी, को बन्ला रक्षामन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार (हिजो) ११औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरे । जसमा उनले रिक्त मन्त्रालयमा मन्त्री नियुक्ति गरेका छन् । प्रधानमन्त्री ओलीले ईश्वर पोखरेललाई सिंहदरबार तानेर रक्षा मन्त्रालय आफैँसँग राखेका छन् । यस्तै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा लीलानाथ श्रेष्ठलाई ल्याएका छन् । यसैगरी शहरी विकास मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिएका छन् भन् अर्थ मन्त्रालयको जिम्मेवारी आफ्नो विश्वासपात्र महासचिव विष्णु पौडेललाई दिएका छन् । यस्तै जिम्मेवारी हेरफेरकै क्रममा पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय परेको छ ।

यसबीचमा ईश्वर पोखरेलको मन्त्रालय खोसिएको विश्लेषण गरिएको छ । जुन विश्लेषणलाई राति उनले गरेका ट्वीट्ले पनि झनै सघायो । ‘विकसित परिस्थिति र घटना– प्रसंगका सम्बन्धमा मानिसहरुको बुझाइ, विश्लेषण र अभिव्यक्ति/टिप्पणीहरु हेर्दै बुझ्ने कोशिश गर्दै…!’ विषयक उनको ट्वीट्ले धेरै जनाले पोखरेलले अपमानित महसुस गरेको अड्कल गरे । तर, पोखरेलनिकट एक नेताले भनेका छन्–‘उहाँ सल्लाहमै सिंहदरबार सर्नुभएको हो । उहाँ सन्तुष्टि नै हुनुहुन्छ ।’

यता मन्त्रिपरिषद् पुनर्गठनलाई नै लिएर नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट देखिएको बताइन्छ । यद्यपि पनि नेकपानिकट स्रोतका अनुसार रक्षा मन्त्रालयको जिम्मेवारी दशैंअगाडि नै माधवकुमार नेपाल पक्षलाई दिइनेछ । यससँगै नेपाल निकटका नेताहरुसँग छलफल तथा परामर्शमा जुटिसकेका छन् ।

भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेताहरु यसअघि नेपाल पक्षबाट मन्त्री बन्ने चर्चामा थिए । स्रोतका अनुसार नेपाल समूहबाट भीम रावललाई रक्षा मन्त्रालयको नेतृत्वमा पठाउने मोटामोटी सहमति बनेको छ ।

यसअघि मन्त्रिपरिषद् हेरफेरको क्रममा पाण्डेलाई मन्त्री बनाउने चर्चा चलेपनि उनी मन्त्रिपरिषद्मा आएका छैनन् । उनी यसअघि अर्थमन्त्रीका रहरे हुन् ।

प्रतिक्रिया