नियम विपरित डीन नियुक्त गरेको भन्दै कर्णाली प्रतिष्ठानमा तालाबन्दी

काठमाडौं । उपकुलपतिले नियम विपरित तेस्रो डीन नियुक्ति गरेको भन्दै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनमा तालाबन्दी गरिएको छ ।

मंगलबार प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्र वाग्लेले आफूखुशी जनस्वास्थ्य संकायमा तेस्रो डीन नियुक्त गरेकोमा चर्को विरोध जनाउँदै प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले आज शैक्षिक प्रशासनमा तालावन्दी गरेको हो ।

समाजले प्रतिष्ठानलाई पदाधिकारीहरुले नै धरासायी बनाएको भन्दै केन्द्रीय प्रशासन र शैक्षिक प्रशासनमा तालावन्दी गरेको हो । प्रतिष्ठानको केन्द्रीय प्रशासन र शैक्षिक प्रशासनमा तालावन्दी गरेपनि उपकुलपति चैं ललितपुरको सम्पर्क कार्यालयमा आरामले बसिरहेका छन् ।

“यति गर्दा पनि अटेरी गरेर माग सुनुवाई भएन भने प्रतिष्ठानको इमर्जेन्सी बाहेक सबै सेवा ठप्प गर्दै बाँकी आन्दोलन चर्काउछौं ।” समाजका अध्यक्ष रामाकान्त उपाध्यायले भने । उनले प्रतिष्ठानको पदाधिकारी भएर आएकाहरुले प्रतिष्ठानलाई कमाई खाने भाँडो बनाएको बताए ।

प्रतिष्ठानका उपकुलपति डा. वाग्ले यतिबेला सम्पर्क कार्यालयमा रहेर प्रतिष्ठानको शैक्षिक, आर्थिक क्षेत्र सिध्याउन लागि परेको एक कर्मचारीले बताए । ४ वर्षे कार्यकालमा मुस्किलले ५ महिना जुम्ला बसेका उपकुलपतिले प्रतिष्ठानको विकासमा एक प्रतिशत काम गर्न नसकेको आरोप छ ।

‘राजधानीमा बसेर सरकारले एमविविएस पढाउन दिएन भनेर कोकोहोलो गर्नुको अर्थ छैन, चार वर्षमा उपकुलपतिले केही मेडिकल माफिया र व्यापारी पोस्ने, प्रतिष्ठानमा आफ्ना र आफन्तलाई जागिर लगाउने वाहेक केही गरेका छैनन् ।’ प्रतिष्ठानको शैक्षिक प्रशासनका एक कर्मचारीले भने ।

कर्मचारी कल्याणकारी समाजले तालावन्दी गर्दै तीन बुँदे माग पनि अगाडी सारेको छ । समाजले अनियमित तवरले नियुक्ति गरिएका स्वास्थ्य संकायका डीन लगायत सम्पूर्ण फजुल नियुक्तिहरु खारेज गर्न माग गरेको छ । समाजले यसभन्दा अघि राखेका पुराना मागहरु पुरा गर्न तथा कोरोनामा खटिने सम्पूर्ण स्वास्थ्यकर्मी, चिकित्सक तथा कर्मचारीहरुको जोखिम भत्ता उपलब्ध गराउन माग गरेको छ ।

याे पनि हेर्नुहाेस्

नियम विपरित उपकुलपतिले नियुक्ति गरे डेढ सय कर्मचारी

प्रतिक्रिया