डीन मात्रै तीन जना !, नियम विपरित उपकुलपतिले नियुक्ति गरे डेढ सय कर्मचारी

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले नियमावली विपरित डीन नियुक्ति गरेको भन्दै चर्को विरोध भएको छ । प्रतिष्ठानमा २/२ जना डीन काम नपाएर खाली बसिरहेको बेला उपकुलपतिले नियम विपरित जनस्वास्थ्य संकाय तर्फ अर्को डीन नियुक्ति गरेका छन् ।

हिजो असोज २७ गते प्रतिष्ठानका उपकुलपति डा. वाग्लेले आफु खुसी प्रा.डा. मुनीराज क्षेत्रीलाई जनस्वास्थ्य संकायको डीन नियुक्ति गरेपछि प्रतिष्ठानमा चर्को विरोध शुरु भएको छ ।

कार्यकाल सकिने तरखरमा रहेका उपकुलपतिले प्रतिष्ठानलाई आर्थिक भार थप्न अनावश्यक कर्मचारीहरु धमाधम नियुक्त गर्न थालेको बताइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले विज्ञप्ति जारी गरी अनियमित तवरले डीन नियुक्ति गरिएको भन्दै तत्काल निर्णय सच्याउन माग गरेको छ ।

डा. मुनीराज क्षेत्रीलाइ दिइएकाे नियुक्तिकाे पत्र ।

समाजका अध्यक्ष रामकान्त उपाध्यायले डीन नियुक्तिको निर्णय २४ घन्टाभित्र नसच्याए उपकुलपतिको राजिनामा समेत माग गर्दै कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा. वाग्लेले प्रतिष्ठानको ऐन २०६८ को दफा २३ को उपदफा १ बमोजिम डीन नियुक्त गरीएको बताएका छन् । तर, प्रतिष्ठानको नियमावली अनुसार एक जना मात्र डीन हुने व्यवस्था छ । प्रतिष्ठानले सहायक डीन भने नियुक्त गर्न सक्ने प्रावधान छ तर, त्यसकालागि प्रतिष्ठानको कार्यकारीणी समितिले निर्णय गर्नुपर्छ ।

यसअघि प्रतिष्ठानमा नर्सिङ डिनका रुपमा सरस्वती गौतम भट्टराई र मेडिसिन डिनका रुपमा रेशमराज राना नियुक्त भइसकेका छन् । शिक्षाध्यक्ष डा. निरेश थापाले पनि प्रतिष्ठानको शैक्षिक उन्नयनमा कुनै सुधार ल्याउन सकेका छैनन् । आफ्नो सात वर्षे जागिरे जीवनमा डा. थापा मुस्किलले २ वर्ष मात्र प्रतिष्ठान बसेका छन् । प्रतिष्ठानमा बस्नु भन्दा अनेक विदा मिलाएर बाहिर रहेका उनले शिक्षाध्यक्ष हुन माओवादीका घरघर गएर विन्ती विसाएको चर्चा अझै सेलाएको छैन ।

कर्मचारी कल्याणकारी समाजले जारी गरेकाे विज्ञप्ति ।

चार वर्षमा डेढ सयको गैरकानुनी नियुक्ति

प्रतिष्ठान कर्णाली प्रदेशका जनतालाई चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्न स्थापना भएको संस्था हो । दुर्गम क्षेत्रमा भएकाले सरकारी नजरमा कर्णाली प्रतिष्ठान प्रति सहानुभूति छ । सोहि कारण प्रतिष्ठानले नेपाल सरकारबाट करोडौं बजेट पाउने गरेको छ । तर, प्रतिष्ठानका पदाधिकारी, रजिष्ट्रार, उपकुलपतिले प्रतिष्ठानलाई ‘लुटिखाने थलो’ बनाएका छन् । सरकारी बजेटमा ‘लूटतन्त्र’ मच्चाएका छन् । ‘कसैले विरोध गरिहाल्यो भने कर्णालीबासीकै नाम लिएर विरोध गर्नेहरुलाई गलहत्याउने सम्मका हर्कत गर्छन् । त्यहि भएर आजसम्म कुनै कर्मचारी र कर्णालीप्रति सहानुभूति राख्नेहरुले बोल्न सकेका छैनन् ।’ प्रतिष्ठानका एक कर्मचारी भन्छन् ।

उपकुलपतिले मात्रै चार वर्षको अवधिमा नियम विपरित डेढसय कर्मचारी भर्ना गरेका छन् । प्रतिष्ठानले स्थायी कर्मचारी माग गर्दा प्रक्रिया पुर्याएर लोक सेवा आयोग मार्फत गर्नुपर्ने भएपनि उपकुलपति डा. वाग्लेले नियम विपरित डेढ सय कर्मचारीहरु करारमा भर्ना गरेको स्रोतको दावि छ ।

‘प्रतिष्ठान बनाउन भनेर आएकाहरुले प्रतिष्ठान सिध्याए, लुटि खाने भाँडो बनाए । उपकुलपतिको त के कुरा गर्नु चार वर्षमा उनी मुस्किलले पाँच सात महिना मात्र यहाँ बसे होलान् । उनले नियमविपरितका सबै काम सम्पर्क कार्यालयमा बसेर गर्छन् ।’ प्रतिष्ठान स्रोत भन्छ ।

स्रोतका अनुसार उपकुलपतिले आफ्नो कार्यकाल सकिने बेलामा नियमविपरितका कर्मचारी र फ्याकल्टीहरु धमाधम नियुक्त गर्दैछन् । प्रतिष्ठानमा भएका नियम विपरितका कर्मचारी नियुक्तिका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान समेत गरीरहेको छ ।

‘उहाँहरुको कार्यकाल भरी नियुक्त भएका कर्मचारीहरुको विवरण अख्तियारले मागेको छ ।’ स्रोत भन्छ । प्रधानमन्त्रीले समेत प्रक्रिया मिचेर गर्न नसक्ने काम बर्तमान उपकुलपतिले आँखा चिम्लेर गर्ने गरेको स्रोतको भनाई छ ।

सम्पर्क कार्यालय हटाइएन
सरकारले प्रतिष्ठानको अनावश्यक खर्च कटौती गर्न ललितपुरको सम्पर्क कार्यलय बन्द गर्न शिक्षा, स्वास्थ्य मन्त्रालय र अख्तियार दुरुपयोग अनुसनधान आयोगले निर्देशन दिएपनि प्रतिष्ठानले सम्पर्क कार्यालय हटाएको छैन ।

प्रतिष्ठानले ललितपुरमा मासिक पचास हजार बढि भाडा तिर्नेगरी सम्पर्क कार्यालय खोलेको छ । उक्त कार्यालयमै बसेर उपकुलपतिले कर्मचारी सरुवा, बढुवा, नियुक्ति गर्ने गरेका छन् । ‘कसैलाई मन पर्यो, कसैले कुनै प्रलोभन दियो भने उपकुलपतिले त्यहिँबाट तुरन्तै नियुक्ति दिन्छन् बढुवा गरिदिन्छन् । प्रतिष्ठानलाई भर्ती केन्द्र बनाई दिए ।’ एक प्रशासकीय अधिकृतले भने ।

प्रतिक्रिया